भीष्मासँगै स्पाइनी बेबलरको पुनरागमन

काठमाडौं : भीष्म उप्रेतीको आधा घन्टा लामो एकल कविता वाचनसँगै ललितपुरको सानेपास्थित स्पाइनी बेबलर संस्थाले शनिबार आफ्नो पुनरागमन गरेको छ । धेरै पहिले सन् १९९१ मा हरेक अंग्रेजी महिनाको पहिलो शनिबार यही ठाउँमा स्थापित पुराना र नयाँ कवि–कवियत्रीको सरस औ सुललित कवितावाचन हुने गथ्र्यो । त्यो क्रम सन् २००३ मा टुट्यो । अनि झन्डै एघार वर्षपछि सन् २०१३ मा फेरि एकपटक सुरु भएको पल्लव रञ्जनको त्यही स्पाइनी बेबलरमा भीष्मसँगै नयाँ रक्तसञ्चार भएको छ ।
करिब चार दर्जन सचेत श्रोताबीच भीष्मले झन्डै दुई दर्जन कविता पढे । उनका सबै कविताले उपस्थित दर्शकबाट ‘वाह, क्या राम्रो’ भन्ने टिप्पणी सुन्न पाए । सुरुमा संगीतको माहोलबाट सुरु भएको कार्यक्रममा भीष्मले कविता वाचन गरिसकेपछि अडियन्ससित प्रत्यक्ष कुराकानी, टिप्पणी, कवितावाचन र दोहोरो संवादको कार्यक्रम राम्रै गरी अगाडि बढेको थियो ।
पाठकहरूको साहित्यिक स्वादका लागि भीष्मले शनिबार पढेका कवितामध्ये एक नमुना :
चिहान
चिहान घर होइन
त्यहाँभित्र पुगेको मान्छे
फेरि बाहिर निस्कँदैन
आफ्नो प्रिय मान्छेको
चिहानअघि उभिएको बेला
अनौठो विचार आउँदो रहेछ
घरको जस्तै
चिहानको पनि झ्यालढोका
भइदिएको भए…

प्रतिक्रिया