दीपक र विशाल बाहिर

Deepakकाठमाडौं, १८ फागुन । पछिल्ला दुई वर्षदेखि असफल रहँदै आएका तीन फरवार्ड सन्तोष साहुखल, अनील गुरुङ र जमानु राईलाई टोलीमा राख्दै एएफसी च्यालेन्ज कपको छनोट चरणका लागि नेपाली टोली घोषित भएको छ । प्रशिक्षक ज्याक स्टेफानोस्कीको २३ सदस्यीय टोलीमा ६ जना फरवार्ड राखिए पनि आश्चर्यजनक रूपमा मच्छिन्द्र क्लबको प्रभावकारी जोडी विशाल राई र दीपक राई भने यसमा समावेश छैनन् ।

प्रशिक्षक स्टेफानोस्कीले अन्तिम चरणको लक्ष्यसहित छनोट गरेको टोलीका अन्य फरवार्डमा अमर डंगोल, भरत खवास र चेतन घिमिरे छन् । प्रशिक्षणरत २८ जनाको समूहबाट अगाडि बढ्न नसकेका पाँच जनामा विशाल र दीपकका साथै अनील ओझा, नवयुग श्रेष्ठ र सविन्द्र श्रेष्ठ टोलीबाट बाहिरिएका छन् । प्रभावकारी बायाँ रक्षक सविन्द्र टोलीबाट ºयाकिँदा सन्दीप राई , कप्तान सागर थापा, रोहित चन्द, विराज महर्जन, विजय धिमाल , रविन श्रेष्ठ र जितेन्द्र कार्की टोलीमा छन् । यसैगरी मिडफिल्डमा भोला सिलवाल, निराजन खड्का, जगजीत श्रेष्ठ, विजय गुरुङ, विक्रम लामा, राजु तामाङ र राजेन्द्र रावल रहेका छन् । टोलीका गोलरक्षक किरण चेम्जोङ, बिकेस कुथु र रितेस थापा रहेका छन् ।
कप्तान सागर थापा यस पटकको प्रशिक्षण विगतको भन्दा फरक रहेका कारण नेपाली टोली छनोट हुने बताउँछन् । ‘विगतमा स्कोरिङमा कमजोर रहेको कारण हामी बाहिरिने गर्दथ्यौँ । यस पटक त्यस्तो हुने छैन,’ पत्रकार भेटघाटमा कप्तान सागरले भने ।
प्रशिक्षक स्टेफानोस्कीले आफूले एकबर्से योजना बनाएको बताउँदै यो प्रतियोगिताको योजनामा मात्र दीपक, विशाल र सविन्द्र नरहेका उल्लेख गरे । ‘उनीहरू प्रतिभाशाली छन् । यस पटक मेरो योजनामा उनीहरू नरहेका हुन् । साफ च्याम्पियनसिपलगायत आसन्न प्रतियोगितामा ती सबै राम्रा खेलाडी टोलीमा रहन सक्नेछन्,’ उनले भने ।
शनिबारदेखि दशरथ रंगशालमा सुरु हुने च्यालेन्ज कप छनोट चरणअन्तर्गत समूह डीमा नेपालसमेत प्यालेस्टाइन, बंगलादेश र नर्थर्न मारियाना आइल्यान्ड छन् । शनिबार नेपालले नर्थर्न मारियाना आइल्यान्डविरुद्ध र प्यालेस्टाइनले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया