विद्यार्थी छादा निकै चलचित्र हेरियो

Badri-Pandyaनेपाली चलचित्रले अहिले उल्लेखनीय फड्को मारेको छ । केही वर्षयता देशमा भएका धेरै उपलब्धिमध्ये नेपाली चलचित्रको स्तरियता पनि एक हो । त्यसैले पनि यतिबेला निर्माण भएका चलचित्र कमजोर छन् भन्नु अन्याय हुन्छ । अहिले चलचित्र राम्रा बनिरहेका छन् । तैपनि, म स्वयंले बेफुर्सदीका कारण धेरै चलचित्र हेर्न पाएको छैन । चलचित्र हेर्न नपाए पनि पहिले हेरेका चलचित्रका स्वाद भने भुलेको छैन । पहिले त चलचित्र कुनै पनि नछुटाई हेर्थंे ।
त्यसो त मैले चलचित्र हेर्न थालेको लगभग ०४४ सालबाट हो । त्यतिबेला म स्कुले विद्यार्थी थिएँ । ‘के घर के डेरा’ मैले हेरेको पहिलो चलचित्र हो । हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसमेतको अभिनय रहेको त्यो चलचित्र मैले अहिलेसम्म भुल्न सकेको छैन । स्कुले जीवनमै हेरेको त्यो चलचित्र मेरो विद्यार्थी जीवनमा पनि मेल खाने थियो । विद्यार्थी जीवनको कुरै अर्काे– के नेपाली, के हिन्दी † चलचित्र हेर्न पाए पुग्थ्यो । जे–जे चलचित्र चल्थ्यो, सबै हेरिन्थ्यो ।
मैले हेरेको पछिल्लो चलचित्र ‘ब्ल्याक नाइट’ हो । चलचित्र प्रदर्शन हुन बाँकी छ । आफन्तले बनाएको भएर मलाई च्यारिटी सोमा बोलाइएको थियो । यो चलचित्र हेरेपछि पछिल्लो समय यसक्षेत्रले मारेको फड्को मैले बुझ्न पाएँ । विद्यार्थी जीवनमा चलचित्र हेर्दाको बुझाइ र अहिलेको बुझाइमा आकाश जमिनको फरक छ । त्यतिबेला चलचित्र हेर्दा प्रेमको विषय छ कि छैन, एक्सन कस्तो छ, ग्ल्यामर सिन कति छन्, को–कोसँग गएर चलचित्र हेर्दा फरक पर्दैन आदी कुरामा ध्यान दिइन्थ्यो । तर, अचेल चलचित्र आलोचनात्मक रूपले हेरिन्छ । चलचित्रमा यसको सट्टा यस्तो सिन भए हुन्थ्यो, यो सिन नराखेको भए हुन्थ्यो भन्ने सचेत विचार आफै आउन थालेको जस्तो महसुस हुन्छ ।
पछिल्लो समय बनेका चलचित्रमध्ये ‘दासढुंगा’ हेर्ने इच्छा थियो, तर हेर्न पाइनँ । ‘लुट’ हेरेको छु । यसले निकै राम्रो व्यवसाय गरेको समाचार बाहिर आएको थियो । हामीले जति नै राम्रो चलचित्र निर्माण गरे पनि त्यसको तुलना हिन्दीसँग गर्नुपर्छ । हिन्दीसँग तुलना गर्दा यहाँका कलाकारले गरेको अभिनय तुलना नगर्न मन लाग्छ । यहाँका कलाकारले गर्ने अभिनय नाटक जस्तो देखिन्छ । त्यसैले कलाकारले नाटकीय अभिनय सुधारेर वास्तविक लाग्ने अभिनय गर्नुपर्छ । अन्य पक्षमा भन्ने हो भने न्यून लगानी भएको भए पनि हाम्रो चलचित्र क्षेत्र धेरै अगाडि छ ।
मैले देखेको के हो भने चलचित्र बनाउन हामीकहाँ धेरै मिहिनेत गरिँदैन । अभिनय गराउन जान्नेको कमी छँदै छ । उदाहरणका लागि मनीषा कोइरालालाई लिन सकिन्छ । किनभने, नेपालमा उनले अभिनय गरेको चलचित्र नचलेर उनी बलिउड गएकी हुन् । बलिउडमा उनले अभिनय गरेको पहिलो चलचित्र नै सफल भयो । उनीमा क्षमता नभएको भए चलचित्र किन चल्थ्यो र ? त्यसैले, यो मामिलामा पनि हाम्रो कलाक्षेत्रमा लाग्नेले प्रतिभाको सदुपयोग गर्न नजानेका हुन् कि जस्तो लाग्छ ।
मैले हेरेको चलचित्रमध्ये ‘बलिदान’ मलाई अझै सम्झना छ । ०४६ अगाडिको परिवेश अर्थात् इतिहासलाई लिएर निर्माण भएको यसले कुन परिवेशमा र केका लागि प्रजातन्त्र ल्याइएको हो भन्ने सन्देश बाँड्न खोजेको थियो । इतिहासको विषयमा निर्मित चलचित्रको कुरा गर्दा ‘वीर गणेशमान’को पनि नाम लिनुपर्छ । यस चलचित्रले कूटनीतिका बारेमा आवाज बुलन्द गरेको छ ।
चलचित्र अभिनय गर्ने सोख न मलाई पहिलै थियो, न त अहिले नै छ । म राजनीति गर्ने मान्छे यसैमा लाग्नु पर्छ भन्ने लागेर पनि होला चलचित्र अभिनयमा रहर नभएको । यसो भन्दैमा चलचित्रको कलाकार कसैलाई म चिन्दिनँ भन्न खोजेको पनि होइन । व्यक्तिगत सम्बन्ध नभए पनि प्राय: कलाकार चिन्दछु । नामै लिनु पर्दा राजेश हमाल, करिश्मा मानन्धर, भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाललगायत छन् ।
मैले सुन्दै आएको छु, पछिल्लो समय चलचित्र कमजोर बनेका छन् । त्यसैले गुणस्तर खस्कियो र व्यापार भएन । यो गलत हो जस्तो लाग्छ मलाई । पछिल्लो समय चलचित्रले व्यवसाय नगरेको हो । तर चलचित्र भने उत्कृष्ट बनेका छन् । व्यापार नगर्दैमा नराम्रो बन्यो भन्नु गलत हो । चलचित्रले प्राविधिक रूपमा पनि ठूलो फड्को मारेको छ । अहिले चलचित्र नचल्नुको कारणमध्ये एक आयश्रोतको कमि पनि हो । अर्काे कारण चलचित्र हेर्न हलसम्म जानु पर्ने बाध्यता पनि छैन नि त ।
अहिले बनेका चलचित्रले त्यति राष्ट्रिय भावना जाग्रित गराउन पनि सकेका छैनन् । त्यसले देशको संस्कृति पहिचान गराउन सकेको छैन । विदेशी संस्कृति टप्प टिपेर पस्कने परम्परा चलेको छ । हाम्रो मर्यादा मूल्य मान्यतामा रहेर चलचित्र नबनाइएकोले गर्दा पनि चलचित्रप्रति दर्शकको लगाव घटेको हो । विदेशी पाइए नेपाली किन हेर्ने ? भन्ने भावना व्याप्त छ । हामीले चलचित्र बनाउने हाम्रो संस्कृति जोगाउन हो, पश्चिमी संस्कृति भित्र्याउन होइन । आफ्नै परिवेशमा बनेका चलचित्रले पहिलेपहिले पनि व्यवसाय गरेका थिए, अहिले पनि गरिरहेकै छन् र भविष्यमा पनि राम्रै गर्नेछन् । (वार्तामा आधारित)

प्रतिक्रिया