सिरियाबारे रुस–फ्रान्स वार्ता

Russमस्को : फ्रेन्च राष्ट्रपति फ्रास्वाँ होल्यान्डले सिरियाली संकट समाधानका निम्ती रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सिरियाली संकट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले चाल्ने कदममा रुसको सम्मती अनिवार्य बन्दै गएको महसुस भइरहेका बेला होल्यान्डले पुटिनसँग गरेको भेटवार्तालाई सर्वत्र चासोका साथ हेरिएको छ ।
सिरियाली संकटबारे अन्तर्राष्ट्रिय जनमत विभाजित बनेका बेला राष्ट्रपति होल्यान्डले पुटिनलाई भेटेका हुन् । अमेरिका, युरोपेली युनियन, अरब लिग र राष्ट्रसंघले सिरियाली सत्तालाई विद्रोहीको मागबमोजिम अघि बढ्न दबाब दिँदै आएका छन् । तर, रुसले भने सिरियाली सत्ताका निम्ती अझै पनि सहयोगको हात बढाइरहेको छ ।
रुस भ्रमणमा रहेका होल्यान्डले राष्ट्रपति पुटिनसँग बिहीबार क्रेम्लिनमा भेट्नुअघि रुसले राख्ने अडानले सिरियामा चाँडै शान्ति स्थापना हुने/नहुने निर्धारण गर्ने बताए । शान्ति स्थापनाका निम्ती हुने वार्ताका लागि सिरियाली राष्ट्रपति बसर अल असदले राजीनामा दिनुपर्ने माग विद्रोहीले गर्दै आएका छन् । तर, रुसले भने सशर्त वार्ताको विरोध गर्दै असदले मुलुक छोड्नुपर्ने विद्रोहीको माग ठाडै अस्वीकार गर्दै आएको छ । भेटअघि एक रेडियोलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति होल्यान्डले सिरियाली विद्रोहीलाई रुसले मान्यता दिएको भन्दै सन्तुष्टि व्यक्त गरे । सिरियामा विद्यमान राजनीतिक संक्रमण अन्त्यका लागि हुने वार्तालाई रुसले सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । अन्तर्वार्तामा उनले भने, ‘मेरो विचारमा आगामी केही साताभित्रै राजनीतिक समाधानको केही उपायबाट २३ महिनादेखि सिरियामा जारी द्वन्द्व अन्त्य गर्नेछौँ ।’
सिरियामा सशस्त्र विद्रोह मच्चाइरहेको विद्रोही समूह ‘फ्रि सिरियन आर्मी’लाई प्रत्यक्ष सहयोग गर्ने घोषणा अमेरिकाले गरेपछि फ्रान्स र रुसका राष्ट्रपतिबीच भेटवार्ता भएको हो । केही युरोपेली मुलुकसँगको समन्वयमा अमेरिकाले विद्रोहीहरूका लागि सहयोग रकम छुटयाएको भए पनि विद्रोहीलाई गैरघातक हतियारसमेत उपलब्ध गराइने हो या होइन भन्नेबारे केही खुलाइएको छैन । तर, अमेरिकाले सहयोग घोषणा गर्नुअगावै सिरियाले विद्रोह मच्चाउनेलाई ‘आतंकवादी’को संज्ञा दिँदै विदेशी घुसपैठकर्ताले मुलुकमा अस्थिरता निम्त्याउन चाहेको आरोप लगाउँदै आएको छ । अमेरिका र युरोपेली मुलुकको इशारामा टर्की, साउदी अरब, कुवेतलगायत राष्ट्रले विद्रोहीलाई हतियारलगायतका आरोप उपलब्ध गराएको आरोप सिरियाले लगाउने गरेको छ ।
सिरियाली राष्ट्रपति असदको विपक्षमा अन्तर्राष्ट्रिय जनमत प्रतिकूल बन्दै जाँदा चीन, इरानलगायतका मुलुकसँग मिलेर रुसले विभिन्न अन्तर्राष्ट्रिय फोरममा सिरियाली सत्ताको समर्थन गर्दै आएको छ । शीतयुद्धताका मध्यपूर्वमा रुसको दरिलो साझेदार सिरियालाई शीत युद्धको समाप्तीपछि पनि रुसले सहयोग गर्दै आएको छ । (एजेन्सी)

प्रतिक्रिया