स्वास्थ्यकै कर्मचारीको यो पारा

Cigret-piudaiकाठमाडौं, १८ फागुन । कुनै पनि सरकारी कार्यालय परिसर तथा सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने नियम सरकारले बनाएको छ । तर, सरकारी कर्मचारीले नै चुरोटको धुवाँसँगै यस्तो नियमको धज्जी उडाइरहेका छन् ।

तस्बिरमा चुरोट तन्काइरहेका व्यक्ति स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारी हुन् भने पछाडिको भवन स्वास्थ्य मन्त्रालय हो । नियम कार्यान्वयनमा ल्याउनुपर्ने जिम्मेवार मन्त्रालयका कर्मचारीले नै यसरी गति छाड्छन् भने अरूलाई के भन्ने ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि ल्याएको ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’ले सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई विभागीय कारबाहीसम्म गर्ने व्यवस्था गरेको छ । तर, नियामक निकाय
स्वास्थ्य मन्त्रालय परिसरमै मन्त्रालय मातहतकै कर्मचारीले यो नियमको धज्जी उडाएका छन् ।
यसरी चुरोट तन्काउने महाशय स्वास्थ्य मन्त्रालय परिसरमा रहेको स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी विजय झा हुन् । झा र उनका एक साथी गत मंगलबार मन्त्रालय परिसरमै निष्फिक्री चुरोट तानिरहेका भेटिए । मन्त्रालय परिसरमा रहेको चमेना गृहनजिकै उनीहरूले चुरोट तानिरहेको मन्त्रालयका थुप्रै कर्मचारीले हेरिरहेका थिए । बिहान ११ बजे कार्यालयमै ढुक्कसँग चुरोट तानिरहेका ती दुवैलाई कसैले पनि रोक्न सकेन ।
‘आºनै मन्त्रालयका कर्मचारीले यसरी नियम मिचेपछि अरूले के मान्छन् ?’ मन्त्रालयकै एक कर्मचारीले भने । उनका अनुसार मन्त्रालय परिसरमा यस्ता दृश्य सधैँ देखिने गरेको छ । ०६८ साउन १९ गतेदेखि देशव्यापी रूपमा लागू भएको नियमले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ । यो नियमविपरीत जानेलाई सरकारले एक सय रुपियाँदेखि सार्वजनिक स्थलबाट बहिष्कार गर्नेसम्मको कारबाही गर्ने व्यवस्था गरेको छ । अझ सरकारी कार्यालय परिसरमा यो नियमविपरीत कार्य गरेमा सोझै विभागीय कारबाहीसम्म गर्नसक्ने अधिकार कार्यालय प्रमुखमा रहेको छ । मन्त्रालयका अनुसार यो नियम लागू भएदेखि केही सर्वसाधारणलाई कारबाही गरे पनि कार्यालय परिसरमै चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरेको भनी कारबाही गरिएको छैन ।
सरकारले सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिवृद्धि गर्न ऐन ल्याएको मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले बताए । ‘कसैले पनि यस ऐनविपरीत सार्वजनिक स्थलमा धूमपान वा सुर्तीसेवन गर्न पाउने छैन,’ उनले भने, ‘यदि कसैले ऐनविपरीत कार्य गरेको पाइएमा उसलाई नियमानुसार कारबाही गरिनेछ ।’ उनले मन्त्रालय परिसरमै नियमविपरीत हुने गरेको धूमपान र सुर्तीजन्य पदार्थ सेवनको विषयमा जानकारी लिएर कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
सार्वजनिक स्थलका साथै कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूमपान गर्न नपाउने व्यवस्था पनि ऐनले गरेको छ । यदि, कसैले अरूलाई असर गर्ने गरी घर तथा निजी सवारीसाधनमा चुरोट तथा सुर्ती सेवन गरेमा निजलाई पनि ऐनअनुसार एक सय रुपियाँभन्दा माथिसम्म जरिवाना हुनेछ ।
के हुन् सार्वजनिक स्थल ?
नेपालमै पहिलोपटक लागू भएको सो ऐनले सार्वजनिक स्थल भनेर तोकेका स्थान
राज्य तथा सरकारका निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धवृद्धाश्रम, अनाथालय, बालउद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथिगृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी–पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर

प्रतिक्रिया