बास्केटबल फाइनलमा इनोभेटिभविरुद्ध आइडियल

काठमाडौं : इनोभेटिभ इंग्लिस स्कुल र आइडियल मोडेल स्कुल दोस्रो यु–१४ अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको सेमिफाइनलमा इनोभेटिभले पोखराको मनकामनालाई ५१–४१ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा अजय कुँवरले १७ अंक योगदान गरे । पहिलो क्वार्टरमा १६–५ को अग्रता बनाएको इनोभेटिभ दोस्रोमा ११–१४ र तेस्रोमा ११–१३ ले पछि पर्‍यो । चौथो क्वार्टर १३–९ ले आफ्नो पक्षमा पार्दै इनोभेटिभले फाइनल यात्रा सुनिश्चित गर्‍यो ।
आइडियलले विल्सन एकेडेमीको यात्रा ४१–३६ ले पूर्णविराम लगायो । विजेताका अनिश गुरुङले १८ स्कोर गरे । आइडियलले पहिलोमा १६–१२ र दोस्रोमा ८–७ अंक बटुल्यो । तेस्रो १०–१० तथा चौथो ७–७ को बराबरीमा सकियो । रामकुमार बस्नेतको स्मृतिमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा गल्र्सतर्फ एन्जल्स हार्ट र भ्याली पब्लिकले उपाधि भिडन्त पक्का गरे । एन्जल्स हार्टले टिआइएलाई २१–१४ ले पाखा लागायो । विजयी टिमको खातामा विष्णु दगामीले सर्वाधिक ७ अंक थपिन् । सुरुको क्वार्टर २–२ को बराबरीमा टुंगियो भने चौथोमा एन्जल्स हार्ट ३–६ ले पछि पर्‍यो । एन्जल्स हार्टले दोस्रोमा ९–२ र तेस्रोमा ७–४ को प्रदर्शन गर्‍यो । भ्याली पब्लिकले ड्याफोडिलको चुनौती २६–२२ ले समाप्त पार्‍यो ।
चौथो क्वार्टरको समाप्तिसम्म दुवै २२–२२ को बराबरीको स्थितिमा थिए । अत्तिरिक्त समयमा भ्याली पब्लिकले ४ अंक जोड्दै जित पक्का गर्‍यो । ड्याफोडिल अंक जोड्न असफल रह्यो । (सौस)

प्रतिक्रिया