१५ वर्षपछि प्रहरीको जालमा बुर्कावाली

SAFIA-DIPENDRAकाठमाडौं, १६ फागुन । बाँकेको नेपालगन्जस्थित जयसपुरलाई ‘ट्रान्जिट’ बनाएर १५ वर्षदेखि लागुऔषध खैरो हेरोइनको कारोबार गर्ने महिलालाई काठमाडौंमा पक्राउ गरिएको छ । पक्राउ पर्ने जयसपुर–६ की ४५ वर्षीया सोफिया भनिने बिट्टी खान हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोले उनलाई खैरो हेरोइन ८५ ग्रामसहित कलंकीबाट पक्राउ गरेको हो । पक्राउ गर्दा उनी बुर्कामा थिइन् । विगत १५ वर्षदेखि जयसपुरलाई आधार क्षेत्र बनाई निरन्तर लागुऔषधको कारोबार गर्दै आएको सूचना भए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । प्रहरीका अनुसार सूचना लिक हुने समस्याका कारण उनलाई पक्राउ गर्न नसकिएको हो ।
ब्युरोका एसपी श्याम खत्रीले भने, ‘जयसपुरमा पक्राउ गर्न सम्भव नै थिएन, त्यसैले उनलाई पक्राउ गर्न लामै योजना तयार गर्नुपर्‍यो । योजनाअनुसार नै उनलाई काठमाडौं ल्याइयो, अनि मात्रै पक्राउ गर्न सकियो ।’
बुर्कावाली खान गाउँलेलाई मात्र नभई स्थानीय प्रहरीलाई समेत प्रभावमा पार्न सफल थिइन् । ब्युरोबाट प्रहरी टोली जाँदा स्थानीयले सहयोग नगर्ने र स्थानीय प्रहरीसँग मिली अपरेसन गर्दा सूचना लिक हुने कारण उनी अहिलेसम्म बच्दै आएकी हुन् । ब्युरोका डिएसपी रवीन्द्र रेग्मीले भने, ‘उनले लागुऔषधको कारोबार गर्ने सूचना हामीलाई पहिलेबाटै थियो । हामी उनको गाउँमा पुग्यौँ तर गाउँलेहरूले सहयोग गरेनन् । स्थानीय प्रहरीसँग मिल्यौँ, सूचना लिक भयो । केही सिप नलागेपछि उनलाई काठमाडौंसम्म ल्याउने योजना बनायौँ अनि मात्रै पक्राउ गर्न सफल भयौंँ ।’
प्रहरीका अनुसार जयसपुरका प्राय: गाउँले लागुऔषध कारोबारमा संलग्न छन् । गाउँमा नयाँ मानिस प्रवेश गर्नासाथै उनीहरू सर्तक हुन्छन् । नचिनेका मानिससँग उनीहरू हतपत बोल्दैनन् । सोधपुछ गरिए ‘थाहा छैन’ भन्छन् । प्रहरी भएको शंका भए त उनीहरू नजिक नै पर्दैनन् । अपरेसन गर्न लागियो भने, पहिले नै सूचना पुगिहाल्छ । त्यस बेलासम्म कारोबारी सीमापार पुगिसक्छन् ।
पर्याप्त सूचना हुँदाहुँदै पनि कारोबारीलाई पक्राउ गर्न नसक्नुका कारण यिनै भएको प्रहरीको भनाइ छ । एसपी खत्रीले जयसपुर गाउँमा लागुऔषधको कारोबार गर्ने खान जस्तै अन्य पनि थुप्रै रहेको खुलासा गरे । तर, पक्राउ गर्न सोचेजति सजिलो नभएको उनको भनाइ छ ।
प्रहरीका अनुसार उनले लागुऔषध कारोबारमा छोरीहरूलाई प्रयोग गर्थिन् । श्रीमान् नभएकी उनका ६ सन्तान छन् । उनले भारतको रुपैडियाबाट लागुऔषध खैरो हेरोइन मगाउँथिन् र लोकल मार्केटमा बेच्थिन् । उनले रुपैडियाका कारोबारीसँग चाहिए जति परिणामको लागुऔषध र मूल्यबारे टेलिफोनबाटै ‘डिल’ गर्थिन् । कुरा मिलेपछि नेपालको सीमा क्षेत्रसम्म पठाउन उनीहरूलाई नै अह्राउँथिन् । लागुऔषध पठाइएको निधो भएपछि लिन भने छोरीहरूलाई पठाउँथिन् र प्रहरी भए/नभएको बारे जानकारी लिन्थिन् । डिएसपी रेग्मीले भने, ‘पक्राउ परिने डरले उनले पहिलो चरणमा लागुऔषध लिन छोरीहरूलाई पठाउँथिन् । प्रहरी नभएको सूचना छोरीहरूबाटै लिन्थिन् । बाटो क्लियर भएको पक्का भएपछि मात्रै उनी देखापर्थिन् ।’
प्रहरीका अनुसार उनले प्रत्येक हप्ता डेढ किलोभन्दा धेरै परिणाममा लागुऔषध खैरो हेरोइन बिक्री गर्थिन् । विशेष गरी उनले काठमाडौंलाई मुख्य बजार बनाएकी थिइन् । त्यसबाहेक पोखरा र धरान पनि उनको विशेष बजार हो । डिएसपी रेग्मीले नेपालका बजारमा खैरो हेरोइन वितरण गर्नर्े उनी नै मुख्य डिलर भएको बताए । उनले भने, ‘वीरगन्जपछिको लागुऔषध भित्रिने ठाउँ नेपालगन्ज हो । पछिल्ला दिनमा ग्राहकहरूको माग नेपालगन्जबाट भित्रिने खैरो हेरोइनतर्फ गएको छ । सबैलाई वितरण गर्ने काम भने खानले गर्थिन् ।’

प्रतिक्रिया