विरोध नगरौँ : कांग्रेस शीर्ष नेता

काठमाडौं : प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व लिने संकेत गरेपछि नेपाली कांग्रेसको शीर्ष नेतृत्वले अब त्यसमा विरोध गर्न नहुने जनाएको छ । सभापति सुशील कोइरालानिवास महाराजगन्जमा बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रधानन्यायाधीशको विषयमा छलफल भएको थियो ।
वरिष्ठ र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसमेत उपस्थित बैठकमा कांग्रेस शीर्ष नेतृत्वले रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार रहेको जानकारी गराए । सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले चुनाव गर्ने गरी प्रधानन्यायाधीश रेग्मी सरकारको नेतृत्व लिन तयार रहेको जनाउँदै विरोध नगर्न आग्रह गरेका थिए । ‘प्रधानन्यायाधीशले सरकारको नेतृत्व लिन तयार रहेको जानकारी सभापतिले गराउनुभयो,’ कांग्रेस नेता रामशरण महतले भने ।
यद्यपि, केही केन्द्रीय सदस्यले एमाओवादीले इमानदार भएर प्रधानन्यायाधीशको विषय नउठाएको भन्दै हतारमा रेग्मीलाई सरकारको नेतृत्व दिन नहुने बताएका थिए । कांग्रेसमा शेखर कोइराला, गगन थापा, सुजाता कोइरालासहितका नेता प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन नहुने पक्षमा छन् ।
असन्तुष्टको भेला सुजाता निवासमा
रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन नहुने अडान राख्दै आएको कांग्रेसका असन्तुष्टहरूको भेला सुजाता कोइराला निवासमा बस्यो । प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउँदा एमाओवादीले न्यायालयमाथि पनि खेल्ने र चुनाव पनि नगराई सत्तालाई मात्र लम्ब्याउन खोजेकोमा उनीहरू असन्तुष्ट रहँदै आएका छन् ।
बैठकमा प्रधाननन्यायाधीशले दिएको प्रतिक्रियासहितका विषयमा छलफल भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । छलफलमा पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडु, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी, एनपी सावद, दीपक गिरी, पुष्पा भुसाललगायत करिब दुई दर्जन केन्द्रीय सदस्य उपस्थित थिए । (सौस)

प्रतिक्रिया