देश भन्दा माथि अदालत हुँदैनः एमाओवादी

agni sapkotaकाठमाडौं, १४ फागुन । एमाओवादीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि सर्वोच्च अदालतले बाटो खोली दिनुपर्ने माग गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले मुलुकलाई निकास दिनुपर्ने दायित्व सर्वोच्च अदालतको रहेको बताए । उनले देश भन्दा माथि अदालत हुनै नसक्ने उल्लेख गरे ।
‘संविधानवाद र कानूनी शासन महत्वपूर्ण भए पनि मुलुकको अहिलेको आवश्यकता निकास भएकाले देशभन्दा माथि अदालत हुन सक्दैन,’ उनले भने ।
संविधानका लागि जनता नहुने बताएका उनले भने, ‘जनताका लागि संविधान हुन्छ, संकटमा परेको बेला राष्ट्रलाई निकास दिनु नै सर्वोच्च अदालतको कर्तब्य हो ।’
प्रवक्ता सापकोटाले अदालतमा पनि विवेकी र देशभक्त न्यायाधीश भएको भन्दै मुलुकलाई निकास दिन अहिले सर्वोच्च अदालत पनि सहयोगी बन्नुपर्ने बताए ।
देशको बर्तमान संकटको समाधान संविधान र कानूनका ठेली पल्टाएर निस्कन नसक्ने उनको भनाई छ । ‘अहिले विशिष्ट राजनीतिक निर्णय पगरेर मात्रै मुलुकलाई निकास दिनुपर्छ,’ प्रवक्ता सापकोटाले भने ।
उनले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको सहमतिप्रति नेपाल बार एशोसिएसनले गरेको विरोधको तुक नरहेको बताए ।

प्रतिक्रिया