रेग्मीका बारेमा कांग्रेसमा आन्तरिक छलफल

Nepali Congressकाठमाडौं, १४ फागुन । कांग्रेसले प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व लिन सहमति जनाएको उल्लेख गरेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको प्रभावशाली नेताहरुको बैठकमा शीर्ष नेताहरुले सो जानकारी गराएका हुन् । एक नेताका अनुसार जेठ भित्र निर्वाचन हुन नसके मंसिर महिनासम्म चुनाव गराउने सर्तमा रेग्मीलाई सरकारको नेतृत्व दिन लागिएको हो ।
प्रमुख चार राजनीतिक शक्तिहरुले चुनावी सरकार र निर्वाचनका लागि देखिएको कानूनी एवं संवैधानिक अड्चन अन्त्य गर्ने आश्वासन दिएको पनि कांग्रेसले उल्लेख गरेको छ ।
जेठ भित्रै चुनाव सम्पन्न गर्ने तयारीमा रहेका प्रमुख चार राजनीतिक शक्तिको दोस्रो आग्रह पछि रेग्मीले नेतृत्व लिने संकेत गरेका हुन् ।
त्यस लगत्तै बसेको कांग्रेसका प्रभावशाली नेताहरुको बैठकमा चुनावी सरकारको रणनीतिका बारेमा पनि परामर्श भएको छ । बैठकमा सभापति कोइरालाका साथै उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।
बैठकमा शक्ति पृथकीकरणको सिद्धान्त विपरित प्रधानन्यायाधीश रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन नहुने केन्द्रीय कार्यसमितिको पूर्व निर्णयलाई पनि ध्यान दिन नेताहरुले ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया