चामल मौज्दात न्यून

chamal-jajarkotकैलाली, १४ फागुन । खाद्य संस्थान अञ्चल कार्यालय धनगढीको गोदाममा आवश्यकताभन्दा निकै कम परिमाणमा चामल मौज्दात रहेको छ ।

गोदाममा आवश्यकताभन्दा कम चामल मौज्दात रहेपछि खाद्य संकट हुने क्षेत्रमा समयमै चामल ढुवानीमा समस्या उत्पन्न हुनसक्ने अवस्था सर्जना भएको छ ।
सेती अञ्चल कार्यालय धनगढीबाट बर्सेनि खाद्य संकट हुने सुदूरपश्चिमका सबै र मध्यपश्चिमका केही पहाडी तथा हिमाली जिल्लामा ढुवानी अनुदानमा खाद्य ढुवानी हुँदै आएको छ ।
यो वर्ष संस्थानको गोदाममा निकै कम मात्रामा चामल मौज्दात रहनुमा कोटाअनुसार धान संकलन नभएकाले गर्दा भएको हो । सोही कारण गोदाम रित्तिने अवस्थामा पुगेको पनि संस्थानले बताएको छ ।
संस्थानको धनगढीस्थित खाद्य गोदाममा ४० हजार क्विन्टल चामल मौज्दात रहनुपर्ने व्यवस्था भए पनि हाल आठ हजार क्विन्टल मात्र चामल मौज्दात रहेको संस्थानका जिन्सी सहायक जगतबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार संस्थानसँग भैपरी आउने तथा आकस्मिक घटनाको लागि भनेर न्यूनतम ४० हजार क्विन्टल चामल मौज्दात रहनुपर्ने भए पनि हाल त्यसको निकै कम मात्रामा चामल मौज्दात रहेको छ ।
तीस हजार क्विन्टल ‘बफर स्टक’ र १० हजार क्विन्टल खाद्य सुरक्षा भन्डारअन्तर्गत संस्थानको खाद्य गोदाममा चामल मौज्दात रहनुपर्ने व्यवस्था रहेको
कुँवरले बताए ।
संस्थानका सेती अञ्चल प्रमुख सुरेन्द्र विष्टले गोदाममा आवश्यकताभन्दा कम चामल मौज्दात रहेको भए पनि खाद्य संकट नहुने दाबी गरे । उनका अनुसार आवश्यकता परेमा सरकारले अन्य क्षेत्रमा रहेका गोदामबाट चामल पठाउन सकिने भएकाले भोकमरीको सम्भावना छैन् ।
संस्थानले खाद्य संकट हुने जिल्लामा चालु आर्थिक वर्षको माघ मसान्तसम्म १६ हजार ३९७ क्विन्टल चामल ढुवानी गरिसकेको जनाएको छ । बैतडीको पुडचौडी हाट डिपोमा दुई हजार एक सय मेलौडीमा दुई सय ८६, दार्चुलाको खण्डेश्वरी डिपोमा एक हजार एक सय ७६, सुनसेरा डिपोमा एक हजार २१, पारिबगर डिपोमा एक हजार ५० क्विन्टल चामल ढुवानी गरिएको संस्थानले जनाएको छ ।
यसैगरी अछामको मंगलसेन डिपोमा पाँच सय, बाजुराको मार्तडीमा ६ हजार तीन सय ९३, कोल्टी डिपोमा दुई हजार ६ सय, बझाङको बिसौना डिपोमा एक हजार ९९, हुम्लाको श्रीनरमा एक सय र सुर्खेतमा ७० क्विन्टल चामल ढुवानी गरिएको छ ।

प्रतिक्रिया