वीर अस्पतालको शुल्क वृद्धि फिर्ता

Bir Hospitalकाठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले बढाएको उपचार सेवाशुल्क आइतबार फिर्ता भएको छ ।
सरकारले बजेट कटौती गरेको भन्दै वीर अस्पतालले १ फागुनदेखि बढाएको सेवाशुल्क सोमबारदेखि लागू हुनेगरी फिर्ता लिएको छ । अस्पतालको सेवाशुल्क २५ देखि शतप्रतिशतसम्म बढाएकोमा त्यसको चौतर्फी विरोध भएपछि आइतबार बसेको न्याम्सको ७४औँ कार्यकारी परिषद् बैठकले उक्त निर्णय फिर्ता लिएको हो । परिषद्को ११ माघदेखि दुई दिन बसेको बैठकले सरकारले अस्पताललाई कम बजेट दिएको, उपचार परीक्षणमा उपयोग गरिने रसायनलगायत सामग्रीको मूल्यवृद्धि धेरै भएको भन्दै सेवाशुल्क बढाउने निर्णय गरेको थियो ।
शुल्कवृद्धिले गरिब जनता मारमा परेका र धेरै बिरामी उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै विरोध भएको थियो । अस्पतालको कर्मचारी युनियनले पनि शुल्कवृद्धिप्रति विरोध जनाएको थियो ।
आइतबारको बैठकले परिषद्को ७३औँ बैठकले गरेको शुल्क बढाउने निर्णय स्थगन गरी वैज्ञानिक ढंगले शुल्क परिमार्जन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए । ‘शुल्क परिमार्जनको निर्णयमा धेरै जनगुनासो आएको र प्रतिष्ठानमा रहेका कर्मचारी संघसंगठनले बढाइएको सेवाशुल्कलाई वैज्ञानिक ढंगले निर्धारण गर्नुपर्ने भनी माग गरेकाले १४ गतेदेखि लागू हुनेगरी शुल्क परिमार्जन स्थगनको निर्णय गरिएको छ,’ मुडभरीले बैठकको निर्णय सुनाए, ‘यसका साथै अब वैज्ञानिक रूपले सेवाशुल्क परिमार्जन गर्न पुन: एक कार्यदल गठन गर्ने निर्णय गरियो ।’ (सौस)

प्रतिक्रिया