पूर्वराजदम्पतीको उस्तै मुस्कान

Purba-Raja-n-Raniबारा : सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शुक्रबार स्थानीय रामजानकी मन्दिरमा देखिए । मन्दिर दर्शनका लागि आउँदा दुवै जना अनपेक्षित रूपले हँसिलो अनुहारमा प्रस्तुत भएका थिए ।

छोरा पारसलाई हृदयघात भएको खबरपछि पूर्वराजदम्पती प्रभुनिवासबाट बाहिर निस्केका थिएनन् । निवासभित्रबाटै उनीहरूले फोनमार्फत छोराको खबर बुझिरहेका थिए । शुक्रबार उनीहरू छोराको स्वास्थ्यलाभको कामना गर्न मन्दिर आएको अनुमान गरिए पनि आफ्नो जिजुआमाको तिथि परेकाले मन्दिर दर्शन गरेको बुझिएको छ । सामान्य पूजा गरेपछि उनीहरूले मन्दिरमा तीनपटक परिक्रमा गरेका थिए ।
स्रोतका अनुसार बिहीबार साँझ मात्र पूर्वराजाका सुरक्षाकर्मीले मन्दिरका पुजारी गौरी पकवाललाई भेटी मन्दिर खुला राखिदिन अनुरोध गरेका थिए । उनीहरू आउने खबर गोप्य रहेकाले स्थानीयवासीको धेरै भिड लाग्न पाएन । मन्दिर भ्रमण अवधिभर दुवैले अनुहारमा चिन्ताको कुनै संकेत देखाएका थिएनन् । दुवै अत्यन्त सामान्य अवस्थामा देखिने प्रयासमा थिए ।
बाराको मुसर्नीमाई, कृष्ण मन्दिरलगायत अन्य मन्दिरमा जाने
भनिए पनि रामजानकी मन्दिरमा मात्र पूजा गरेर उनीहरू प्रभु निवास फर्के । पूर्वराजाले मन्दिरपरिसरमा बसेका केही शुभचिन्तकसँग केही बेर सामान्य बोलचाल गरेर परिचयसमेत लिए । शनिबार वीरगन्जस्थित गहवा मन्दिरमा पूजाअर्चना र शुभचिन्तकहरूले पारसको स्वास्थ्य लाभको कामना गर्दै दियो बाल्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
एक महिना बस्ने योजनासहित माघको अन्तिम साता शाह परिवार सिमरा आइपुगेका हुन् । बुहारी हिमानीलगायत परिवारका अन्य सदस्य भने फर्किसकेका छन् ।

प्रतिक्रिया