इलामलाई अवैध हतियारमुक्त बनाइँदै

Bandukइलाम, ११ फागुन । इलामलाई अवैध हातहतियारमुक्त जिल्ला बनाउन प्रहरीले चलाएको अभियान सफल बन्दै गएको छ । इलाम प्रहरीले थप गरेको १५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’अन्तर्गत एक सय ८१ थान हतियार संकलन भएको छ ।

प्रहरीले २४ गाविसबाट दोस्रोपटक संकलन भएको उक्त परिमाणको हतियार बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पहिलो चरणको ३५ दिने अभियानमा संकलित एक सय ७४ थान हतियार २४ माघमा प्रहरीले सार्वजनिक गरेको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको अवैध हतियारको संख्या तीन सय ५५ थान पुगेको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।
पहिलो चरणमा एक थान मात्र फेला परेको लक्ष्मीपुरमा यसपटक सबैभन्दा बढी ३६ वटा भरुवा बन्दुक भेटिएको छ । दानाबारीबाट २३, शान्तिपुर र गजुरमुखीबाट १९/१९, जीतपुरबाट १३, गोर्खेबाट ८, चिसापानीबाट ७, पञ्चकन्याबाट ६ थान तथा कन्याम, जिर्मले र समालबुङबाट पाँच/पाँच थान भरुवा बन्दुक संकलन भएको प्रहरीले जनाएको छ । धुसेनी, इभाङ, लुम्दे, महमाई र श्रीअन्तुबाट चार/चार, मंगलबारेबाट तीन, चलाचुली, आमचोक, सोयाक, फाकफोक, कोल्बुङबाट दुई/दुई, शान्तिडाँडा र साँखेजुङबाट एक/एक थान भरुवा बन्दुक फेला परेको छ ।
प्रहरीले अभियानका क्रममा गाउँ(गाउमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । पछिल्लो समय जिल्लामा अवैध हातहतियारका कारण समाजमा चोरीडकैती र लुटपाटका घटना बढेको भन्दै इलाम प्रहरीले देशमै पहिलोपटक यस्तो अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए । ‘अवैध हातहतियार भएका व्यक्तिहरूबाट हत्या, लुटपाट, डकैती, धम्की तथा वन्य जन्तुको चोरी–सिकारी र अवैध काठ तस्करी गर्ने क्रम बढेकाले यस्ता घटनालाई नियन्त्रण गर्न अभियान सुरु गरेका हौँ,’ दाहालले भने, ‘अभियान सञ्चालनमा स्थानीयवासीको भरपुर सहयोग प्राप्त भएको छ ।’
प्रहरीका अनुसार सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदा पनि लुकाइछिपाइ अवैध हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही गरिनेछ । ऐनअन्तर्गत ६ महिनादेखि सात वर्षसम्म कैद तथा २० हजारदेखि एक लाख ४० हजार रुपियाँसम्म जरिवाना हुन्छ ।
हतियार बुुझाउन ३५ दिने समयसीमा
गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले ३५ दिनभित्र अवैध हतियार बुझाउने व्यक्तिलाई कारबाही नगरिने जनाएको छ ।
प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी गाउँमा अवैध रूपमा थुप्रै हतियार रहेको हुनसक्ने सुराक पाएको भन्दै स्थानीयवासीसमक्ष बुझाउन आग्रह गरेको हो । सशस्त्र द्वन्द्वपछि गाउँमा लुकाइराखेका सम्पूर्ण हतियार बुझाएर सहयोग गर्न प्रहरीले अपिल गरेको छ ।
‘३५ दिनभित्र अवैध हतियार लुकाएर राखेको भए पनि स्पष्टिकरणविना नै हतियार बुझ्छाँै,’ प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले भने, ‘गाउँका प्रहरी चौकीमा पनि यो निर्देशन दिएका छौँ ।’
प्रहरीका अनुसार बिहीबारदेखि लागू हुने गरी ३५ दिनभित्र प्रहरीमा हतियार बुझाउनेलाई कारबाही हुनेछैन । त्यसपछि कुनै पनि व्यक्तिसँग हतियार भेटिए कारबाही हुने प्रहरीले जनाएको छ ।

म्याग्दीमा पनि हतियारको खोजी
बाग्लुङ : म्याग्दीलाई पनि अवैध हतियार मुक्त जिल्ला बनाउन प्रहरीले अभियान थालेको छ । भरुवा बन्दुक, पेस्तोललगायतका हतियार प्रयोग गर्नेलाई नियमन गर्न प्रहरीले बिहीबारदेखि अभियान थालेको हो ।
जिल्लाभरका संयन्त्रमार्फत अवैध हतियार संकलन गर्न सुरु गरिएको डिएसपी मुकुन्द मरासिनीले बताए । ३५ दिनभित्र अवैध हतियार प्रहरीमा बुझाउन सूचित गरिएको डिएसपी मरासिनीले जानकारी दिए । ‘निश्चित अवधिसम्मका लागि हतियार प्रयोगकर्ता स्वयं उपस्थित भएर बुझाए कुनै कानुनी कारबाही नहुने अवसर दिएका छौँ,’ मरासिनीले भने ‘त्यसपछि पनि अवैध हतियार राखेको पाए कारबाही गरिनेछ ।’
वन्यजन्तु तथा पंक्षीको चोरीसिकारी नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अवैध हतियार संकलन गर्न थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार म्याग्दीमा एक थान जर्मनी पेस्तोलसहित भरुवा बन्दुकलगायत ८२ थान इजाजत प्राप्त हतियार छन् । ५० भन्दा बढी अवैध हतियार रहेको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया