काठमाडौं : आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र ग्रिनल्यान्ड स्कुल तेस्रो टेन्डा एआइए अन्तर स्कुल बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आयोजक एआइएले ओडिसी स्कुललाई २६–२२ ले पराजित गरी समूह ‘सी’को विजेताका रूपमा अन्तिम आठमा स्थान सुरक्षित गर्यो । एआइएलाई जित दिलाउन सुभाष सिंहले एक्लै १० स्कोर गरेका थिए । पराजय बाबजुत ओडिसी पनि उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो ।
शंखमूलस्थित आयोजकको कोर्टमा भएको जुनियरतर्फको अर्को खेलमा ग्रिनल्यान्डले जेनिमलाई ४७–१७ ले हरायो । ग्रिनल्यान्डको जितमा सुजन खड्काले १३ स्कोर गरे । त्यस्तै नेरिकले गौरीशंकरलाई २४–१० स्कोरले पराजित गर्यो । नेरिकको जितमा अमृत बस्नेतले १२ स्कोर गरे । जितपछि नेरिक समूह ‘ए’को विजेता र ग्रिनफिल्ड उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरे । त्यस्तै बेबिलोनले पनि न्यू समिटलाई ३४–२५ स्कोरले हरायो । बेबिलोनको जितमा विवेक दाहालले एक्लै २८ स्कोरको योगदान दिएका थिए । समूह ‘ब’बाट बेबिलोन विजेता र ज्ञान निकेतन उपविजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
टेन्डाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको सिनियर तर्फको प्रतिस्पर्धामा ग्रिनल्यान्डले एआइएलाई ४४–३६ स्कोरले पाखा लगायो । टिमलाई जित दिलाउने क्रममा ग्रिनल्यान्डका आलोक लंसालले १५ स्कोर गरे । समूह ‘सी’मा रहेको ग्रिनल्यान्ड उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्दा ज्ञाननिकेतन यसअघि नै समूह विजेताका रूपमा अन्तिम आठमा पुगेको छ । ओपलले नेरिकलाई ५०–३५ स्कोरले स्तब्ध पार्यो । ओपलको जितमा शंकर क्षेत्रीले १४ स्कोरको योगदान दिए । समूह ‘ए’बाट ओपल विजेता र नेरिक उपविजेताका रूपमा अन्तिम आठमा पुगे । गौरव मगरको १६ अंकको मद्दतले भिएस निकेतनले डेनेबलाई ५०–२५ स्कोरले हराए पछि समूह ‘डी’बाट उपविजेताका रूपमा अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । यस अघि नै भ्याली पब्लिक विजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ । बिहीबार क्वार्टरफाइनल हुनेछ ।
प्रतिक्रिया