गौरीटारमा चाँडै होस्टेल बन्ने

हेटौंडा, ७ फागुन । हेटौंडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानमा होस्टल निर्माण कार्य सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्न हेटौंडा पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले टेन्डर आह्वान र अन्य प्रक्रिया सुरु भएको बताए । लामाले मकवानपुर खेलकुदको उर्बरा भूमि भएकाले स्थानीय निकाय, कर्पोरेट हाउस र खेलप्रेमी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।   गौरीटारको खेलकुद प्रतिष्ठान निर्माणपछि यसले नेपाली खेलकुदमा सकारात्मक फड्को मार्ने अपेक्षा गरिएको छ ।

विद्यालयस्तरीय एक मात्र बृहत् खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको तेस्रो संस्करण शनिबारबाट हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । उनले भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रतिभा पहिचानमा सहयोग पुग्ने बताए ।
लामाले पछिल्लो समय साफ खेलकुद र एसियन खेलकुदमा देशको प्रदर्शन खस्कँदो अवस्थामा रहेको भन्दै अन्तर्राष्ट्रिय खेलाडीको परिपूर्ति यस्ता प्रतियोगिताले गर्ने आशा व्यक्त गरे । उनले आगामी वर्षदेखि राष्ट्रपति रनिङ सिल्डमा फुटबल, क्रिकेट, उसु, तेक्वान्दो र कराते थप गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको बताए । हाल राष्ट्रपति रनिङ सिल्डमा भलिबल र एथलेटिक्स समावेश गरिएका छन् । उनले सरकारले भौतिक निर्माण र निजी क्षेत्रले प्रतियोगिता आयोजनाका निमित्त सहयोग गरेको खण्डमा केही समयभित्रै नेपाली खेलजगत्ले फड्को मार्ने आशा व्यक्त गरे । लामाले मकवानपुरमा जग्गा उपलब्ध भएको खण्डमा आधुनिक कभर्ड हल निर्माण गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को रहेको बताए ।
प्रतियोगितामा ३८ विद्यालयका तीन सय पाँच जना विद्यार्थीको सहभागिता रहेको छ । जसमा छात्र दुई सय १२ छात्रा ९३ जना छन् ।
गत वर्ष हेटौंडा–६, गौरीटारस्थित बालजागृति युवा वर्ष माविले प्रतियोगिता आयोजना गरेको थियो । छतिवनको महेन्द्र उच्चमाविले ५३ अंकसहित राष्ट्रपति रनिङ सिल्ड जितेको थियो ।

प्रतिक्रिया