बूढानीलकण्ठलाई राष्ट्रपति रनिङ सिल्ड

rastrapati-cupकाठमाडौं, ७ फागुन । बूढानीलकण्ठ स्कुलले काठमाडौं जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । एथलेटिक्स र भलिबल गरी दुई खेल समावेश प्रतियोगितामा बूढानीलकण्ठ १ सय ८४ अंकसाथ समग्रमा च्याम्पियन बन्यो ।

१ सय ६९ अंकसाथ विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय दोस्रो भयो । तेस्रो स्थानमा रहेको दीपज्योतिले १ सय ३० अंक जोड्यो । एथलेटिक्समा पनि बूढानीलकण्ठ, विजेश्वरी र दीपज्योति नै शीर्ष तीन स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एथलेटिक्सतर्फ ज्याभ्लिन थ्रोको छात्रामा विजेश्वरीकी टीका राम्जाली मगर र छात्रमा बूढानीलकण्ठ स्कुलका चन्दन मल्लिक, ५ हजार मिटर दौडको छात्रामा विजेश्वरीकी संगीता खड्का, ४ सय मिटर दौडको छात्रमा बूढानीलकण्ठका आयुश कुँवर र छात्रामा विजेश्वरीकी अनिता थापा, हाइजम्पतर्फ छात्रमा बूढानीलकण्ठका सम्मानविक्रम थापा र छात्रामा विजेश्वरीकी कुसुम श्रेष्ठ तथा ४ गुणा १ सय मिटर रिलेको छात्रमा बूढानीलकण्ठ तथा छात्रामा विजेश्वरी पहिलो भए ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भलिबलतर्फ छात्रमा न्युटन हाई स्कुल तथा छात्रामा न्यु डायमन्ड एकेडेमी पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्रको फाइनलमा न्युटनले मनास्लुलाई २५–१६, २५–२३ र २५–१५ को सोझो सेटमा हरायो । एपोलोले दीपज्योतिमाथि २५–२०, २७–२५ र २५–२० को निकाल्दै तेस्रो स्थानमा रह्यो ।
छात्राको उपाधि भिडन्तमा डायमन्डले दीपज्योतिलाई सिधा सेटमा २५–११, २५–११ र २५–६ ले पाखा लगायो । तेस्रो स्थानमा चित्त बुझाएको विजेश्वरीले टिलिङटारलाई २५–२, २५–१० र २५–१४ ले पन्छायो ।
विजेतालाई आयोजक समितिका अध्यक्ष हिक्मत थपलिया, काठमाडौं प्याब्सनका अध्यक्ष गोपाल आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । तीन दिने प्रतियोगितामा ६९ विद्यालयले भाग लिएको आयोजक समितिका सचिव एवं कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया