काठमाडौं, ६ फागुन । चलचित्र मैनाले अहिले सबैको ध्यान तानिरहेको छ । आमनेपाली चलचित्रभन्दा फरक विषय र तथ्य कथामा निर्माण भएको यो चलचित्र फरक स्वादको चलचित्र पनि हो । मैनाको हत्या प्रकरणलाई विषय बनाई निर्माण भएको चलचित्रसँगै चर्चामा आएकी छन् नायिका अनिता केसी ।
चलचित्रमा मैनाको भूमिकामा अभिनयका लागि पनि उनको निकै मिहिनेत परेको थियो । अभिनयमा छनोटका लागि अडिसन मात्र चारपटक दिएको अनिताले बताइन् । ‘क्यारेक्टरअनुसार आफूलाई फिट गराउन, मैनाबारे बुझ्न उनी मैनाको गाउँ मात्र ३/४ पटक गएकी थिइन् । बुझ्ने क्रममा मैनाको आफन्त, साथीसँगी सबैसँग भेटेकी छु,’ उनले सौर्यसित भनिन्, ‘चलचित्र अभिनयका लागि सुरुमा घरपरिवारले पनि अनुमति दिएनन् ।
चलचित्रमा मैनाको भूमिका आफूले पाएको घरमा सुनाउँदा खुसी भए पनि आर्मीबाट भएको ज्यादतीको विषयमा बन्ने चलचित्र भएकाले पछि के हुने हो भनेर आमाबुबा त्रसित भएको उनी बताउँछिन् । अनिताले चलचित्रका लागि मैनका डायरीलगायत सबै पढ्ने अवसर पनि पाइन् । मैनाका बारेमा बुझ्ने क्रममा सबैले राम्रो मान्छे भनेको र समाजलाई अग्रस्थानमा लानसक्ने सोच उनमा भएको आफूले बुझ्न पाएको जानकारी दिँदै उनले भनिन्, ‘छायांकन पनि उनकै घरमा गरिएको थियो । छायांकनको समयमा उनका आमाबुबा धेरै रुनुभयो, मलाई आफ्नै छोरी सम्झनुभयो ।’ चलचित्रको छायांकनको बेला उहाँहरूको रुवाइको सीमै थिएन । चलचित्रको छायांकनदेखि अहिलेसम्म पनि उहाँले मलाई मैनाकै व्यावहार गरिरहेका छन् ।
मैनाको घरमा चलचित्र छायांकनका लागि कुनै अवरोध नभए पनि मैनाको आमाबुबाको हालतले आफूलाई समस्या परेको उनको अनुभव छ । अहिले २/३ महिना भयो भेट्न जान पाएको छैन, तर फोनबाट भने कुरा हुने गरेको उनले बताइन् ।
मैना अनिताको पहिलो चलचित्र अभिनय हो । यसअघि उनले स्कुल कलेजमा अध्यायनका समयमा नाटकमा अभिनय गरेकी थिइन् रे । चलचित्र अभिनय आउनुपहिले मैनाको घटना बारेमा पत्रपत्रिकामा समाचार पढेको उनले बताइन् । चलचित्र प्रदर्शनअगाडि अनिताले मैनाको भूमिकाको विषयमा थुप्रै प्रशंसा पाएकी थिइन् । चलचित्र प्रदर्शनपछि सो प्रशंसाले निरन्तरता पाएकी छिन् । त्यसो त चलचित्रको उनको सोच अबका दिनमा चलचित्र अभिनय गर्ने नभएको भने होइन । यस्तै यतार्थवादी, तथ्य–सत्य घटना र राष्ट्रियताका विषयमा बनेका चलचित्रमा अभिनय गर्छु उनले भनिन्, यथार्थवादी चलचित्र बन्नुपर्नेमा उनको जोड रहेको छ । अनिताले दर्शकसँग बसेर पनि चलचित्र हेरेकी छन् । आफूलाई पनि चलचित्र राम्रो लागेको र सँगै बसेर हेर्दा पनि दर्शकले नचिनेको उनले बताइन् ।
अभिनयमा पाइला बढाए पनि मोडलिङतिर भने आफ्नो पटक्कै रुचि नभएको बताउने अनिताले ग्ल्यामरक्षेत्रबारे विभिन्न नकारात्मक कुरा पनि सुनेको बताइन् । ‘आफू राम्रो हुनुपर्छ अरूले बदनाम गर्नसक्दैनन्,’ उनले भनिन् ।
प्रतिक्रिया