उत्तर भेग परिवारद्वारा विश्व कुङ्फू विजेता सम्मानित

1काठमाडौं, ६ फागुन । हङकङमा भएको दोस्रो विश्व उच्च कुङ्फू प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपाल कुङ्फू संघ शाखा उत्तर भेग परिवार, बुढानीलकण्ठले शनिबार सम्मान गरेको छ । माघ १३ देखि १६ गतेसम्म भएको प्रतियोगिताको पुरुषतर्फ विभिन्न स्पर्धामा सञ्जय महर्जनले २ स्वर्ण र १ रजत, हेमन्त महर्जनले १ स्वर्ण र ३ रजत, राजकुमार लामाले १ स्वर्ण, सुकमान लामाले १ रजत, जोन बूढामगरले १ रजत तथा प्रदीप

श्रेष्ठ र शुभराम मुनाकर्मीले १–१ कांस्य जितेका थिए ।
महिलामा मिङ्मा लामा र प्रिया गुरुङले आ–आफ्नो स्पर्धामा स्वर्ण हात पारेका थिए । त्यस अवसरमा टिम संयोजक राजेश्वरमान स्थापित, अफिसियल राजेश तामाङ, टिम प्रशिक्षक चन्द्रप्रसाद महर्जन र सीताराम हुमागाईं पनि सम्मानित भए । २४ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल ६ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो ।
बुढानीलकण्ठस्थित बुढानीलकण्ठ पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा आयोजित कार्यक्रममा काठमाडौंका सिडिओ चूडामणि शर्मा, नेपाल कुङ्फू संघका उपाध्यक्ष एवं सम्मान कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठ तथा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीलगायतले विजेताहरूलाई टीका, फूलमाला, खादा लगाइदिनुका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा नेपाल कुङ्फू संघका अध्यक्ष सुनील शाक्य, अखिल नेपाल खेलकुद संघका अध्यक्ष केसी, समाजसेवीत्रय विष्णुबहादुर खड्का, नारायण श्रेष्ठ तथा कृष्णमाया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
पछिल्लो एक वर्ष नेपालमा कुङ्फ्र खेलले गति लिएको छ । काठमाडौंमा साधारणसभा सम्पन्न गर्दै सुनिल शाक्यको नेतृत्वलाई निरन्तरता दिएको नेपाली कुङ्फूले प्राविधिक जनशक्तिको विकास र अन्तर्राष्ट्रिय सहभागितामा सफलता पाएको छ ।

प्रतिक्रिया