गोल्डेनगेट र गुरुकुल विजयी

काठमाडौं : गोल्डेनगेट र गुरुकुलले प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन् । नयाँ बजार क्लब, कीर्तिपुरद्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले नासालाई ७९–६० अंकले हरायो । पहिलो क्वाटरमा १५–१६ को झीनो अन्तरले पछि परेको गोल्डेनगेट अन्य भने अगाडि रहँदै जित सुनिश्चित गर्‍यो ।
गोल्डेनगेटले दोस्रोमा २५–१९, तेस्रोमा २१–९ र चौथोमा १८–१६ को प्रदर्शन गर्‍यो । गोल्डेनगेटको जितमा दीपेन्द्र महर्जनले १९ अंक योगदान गरे । कीर्तिपुरमा भएको अर्को खेलमा गुरुकुलले ह्वाइटहाउसमाथि ७५–४७ को जित निकाल्यो । विजेताका विनोद महर्जनले १६ अंक जोडे । सुरुआतमा २८–११ को अग्रता लिएको गुरुकुलले अन्तिमसम्म अग्रतालाई कायम राख्दै १९–८, २०–१४ र १६–१२ अंक जोड्यो । प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका कार्यकारी प्रमुख रामलाल श्रेष्ठले उद्घाटन गरेका थिए । चैत ३१ गतेसम्म डबल राउन्ड रविन लिगका आधारमा चल्ने प्रतियोगितामा ६ टिम सहभागी छन् । अन्य टिममा नेपाली आर्मी क्लब तथा आयोजक नयाँ बजार क्लब, कीर्तिपुर रहेका छन् । (सौस)

प्रतिक्रिया