पुलिसलाई इजी राइडर्स भलिबल उपाधि

volley-ball-hpotoकाठमाडौं, ४ फागुन । नेपाल पुलिस क्लबले प्रथम इजिराइडर्स अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । एक वर्षको अन्तरालमा तेस्रो उपाधि जित्ने क्रममा पुलिस क्लबले बिहीबार काठमाडौंको न्यु डाइमन्ड एकेडेमीलाई ३–१ सेटले पराजित गर्‍यो । एक वर्षअघि राष्ट्रिय च्याम्पियन भएको पुलिस क्लबले ६ महिनाअघि काठमाडौंमा भएको एनभिए कपको उपाधि जितेको थियो । त्यस पछिका तीन प्रतियोगितामा एपिएफसँग पराजित हुँदै उपाधिबाट वञ्चित

रहेको थियो ।
‘हामीले उपाधि जित्छौँ भन्ने आशा थियो, पुलिसका प्रशिक्षक रुपेश विष्टले भने ‘हामीले हालै पोखरामा सम्पन्न खेलमा पनि जितेका थियौँ । त्यही आधारमा पनि हाम्रो राम्रो थियो ।’ उपाधि विजेता पुलिसले एक लाख एक सय एक रुपियाँ पुरस्कार पायो । पुलिसकी चुडा खड्का वुमन अफ दी टुर्नामेन्ट र कोपिला उप्रेतीले बेस्ट ब्लकरको पुरस्कार पाए । दुवैले एक हजार पाँच सय रुपियाँ पाए ।
उपविजेतामै चित्त बुझाउन बाध्य डाइमन्डले सबैभन्दा बढी व्यक्तिगत पुरस्कार पायो । उपविजेता डाइमन्डले ५० हजार रुपियाँ पायो । त्यसै टोलीकी कृपा अधिकारी बेस्ट लिफ्टर, सलिना श्रेष्ठ बेस्ट डिफेन्स र रमिला तण्डुकार सर्वोकृष्ट स्पाइकर घोषित भए । सबैले एक हजार पाँच सय रुपियाँ पाए । न्यु डाइमन्डले फेयर प्ले अवार्ड स्वरूप दुई हजार पाँच सय रुपियाँ पनि पायो । पहिलोपटक ठूला प्रतियोगिताको फाइनलमा प्रवेश गरेको न्यु डाइमन्डले घरेलु समर्थन भने पाएको थियो ।
पुलिसले सुरुका दुई सेट २५–१५ र २५–११ ले जित्दै उपाधि यात्रालाई बलियो बनाएको थियो । तेस्रो सेटमा न्यु डाइमन्ड २५–२३ ले विजयी भयो । चौथो सेटमा २५–१७ को जित हात पार्दै पुलिस क्लब उपाधि हात पार्न सफल भयो । प्रशिक्षक कुमार राईले कम अनुभव र उचाइ समस्या भएको बताए ।
यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चल भलिबल संघलाई एपिएफले ३–२ सेटले हरायो । तेस्रो हुँदै एपिएफले २५ हजार एक सय एक रुपियाँ पायो । पश्चिमाञ्चलले १० हजार एक रुपियाँ पायो । एपिएफले पहिलो सेटमा २५–२३ आफ्नो पक्षमा पारे पनि दोस्रो र तेस्रो सेटमा पश्चिमाञ्चल २५–१५ र २५–१८ ले विजयी भयो । चौथो सेटमा २५–१० को फराकिलो जित हात पारेको एपिएफले अन्तिम सेट १६–१४ ले जित्यो ।
खेलमा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङ, पूर्वाञ्चल भलिबल संघका अध्यक्ष विश्वराज धिमाल, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआइजी परशुराम खत्रीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया