वीरगन्ज, ४ फागुन । हिमालयन शेर्पा क्लब म्याजिक मोमेन्ट चौथो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि फाइनलमा हिमालयन शेर्पाले मनाङ–मस्र्याङ्दीको सामना गर्ने भएको छ ।
बाराको सिमरा रंगशलामा बिहीबार भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले पाखा लगाउँदै हिमालयन शेर्पाले फाइनलमा स्थान सुरक्षित बनाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि ३० मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयको १३औँ मिनेटमा गणेश खड्काले निर्णायक गोल गरी हिमालयन शेर्पालाई फाइनलमा पुर्याएका हुन् ।
त्यसअघि मध्यान्तरसम्मको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछि ११औँ मिनेटमा धीरज तामाङले पहिलो गोल गरी हिमालयनलाई १–० को अग्रता दिलाएका थिए । करिब २२ यार्डबाट धीरजले प्रहार गरेको बललाई रोक्न संकटाका गोलरक्षक नडोए मबर्गा पियर चुकेपछि हिमालयनले अग्रता लिएको थियो । तर, मध्यान्तरपछिको ३६आँै मिनेटमा संकटाका युडी गुरुङले हिमालयनको डिबक्स क्षेत्रबाटै सिधा प्रहार गर्दै बललाई जाली चुमाएपछि खेल १–१ को बराबरीमा पुगेको थियो । मध्यान्तरपछि दुवै टिम १–१ को बराबरीमा रहेपछि अन्तिम निर्णयका लागि खेललाई ३० मिनेटको अतिरिक्त समयमा लगिएको थियो । थप समयको १३आँै मिनेटमा हिमालयनका जर्सी नम्बर ३० का जंगब शेर्पाले दिएको पासलाई जर्सी नम्बर ९ का गणेश खड्काले गोलमा परिणत गरेपछि त्यही गोल निर्णायक साबित भयो । अतिरिक्त समयको २४औँ मिनेटमा रातोकार्ड पाएपछि हिमालयनका डिफेन्डर सचिन्द्र धिमाल मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा सीमित भए पनि हिमालयनले अग्रता कायमै राख्दा उपाधि होडमा आºनो दाबेदारी प्रस्तुत गर्न सफल भयो । निर्धारित ९० मिनटको पहिलो हाफमा एउटा पहेँलो कार्ड पाइसकेका हिमालयनका डिफेन्डर धिमालले अतिरिक्त समयमा अग्रता लिएपछि टाइमपास गर्न बल सुरु गर्न ढिला गरेका थिए । डिले टु रिस्टार्टको नियमअन्तर्गत रेफ्री सुदिश पाण्डेले उनलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।
दोस्रो हाफको सुरुवातबाटै हिमालयनले आक्रामक शैली अपनायो । आक्रामक शैलीमा प्रस्तुत हिमालयनले दोस्रो हाफको ११आँै मिनेटमा अग्रता लियो । कप्तान पुकार गहतराजले दिएको लामो पासलाई संकटाको डिबक्सभित्र सम्हाल्दै धीरजले बललाई जाली चुमाएका थिए । संकटाका रितेशले १९औँ मिनेटमा बराबरी गोल गर्ने अवसर गुमाए । रितेशले डिबक्सबाहिरबाट गरेको प्रहार फस्टबारमा ठोकिएको थियो ।
जितपछि पनि हिमालयन शेर्पाका प्रशिक्षक मेघराज केसी खड्कासँग असन्तुष्ट थिए । ‘उनले सोचेजस्तो नखेलेका कारण जित निकाल्न कठिन पर्यो,’ प्रशिक्षक केसीले भने ।
डिफेन्डर सचिन्द्र धिमालले रातोकार्ड पाएका कारण फाइनलमा खेल्न नपाउने भएपछि फाइनल यात्रा केही कठिन हुने उनले बताए । हेमन र धीरजले राम्रो खेलेको उनले प्रतिक्रिया दिए ।
संकटाका प्रशिक्षक राजेन्द्र खड्गीले डिफेन्डर र गोलरक्षककै गल्तीका कारण हार व्यहोरेको बताए । मिडफिल्डर र स्ट्राइकरले राम्रो खेले पनि डिफेन्डर र गोलरक्षक आज (बिहीबार) कमजोर देखिए,’ खड्गीले भने । बिहीबारको खेलको ‘म्यान अफ दि म्याच’ हिमालयनका रुपेश केसी घोषित भए । मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको ट्रफी हात पार्न साबिक विजेता मनाङ–मस्र्याङ्दीसँग दोस्रो संस्करणको विजेता हिमालयन शेर्पाले शनिबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया