लुजियान, स्विट्जरल्यान्ड : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले सन् २०२० मा आयोजना हुने ओलम्पिक खेलकुदबाट कुस्ती खेललाई हटाउन सिफारिस गरेको छ । स्विट्जरल्यान्डको लुजियानमा भएको आइओसी बैठकले गरेको यो निर्णय नयाँ खेलहरूलाई ओलम्पिकमा समावेश गर्नका लागि भएको बताइएको छ । आइओसीको १२५औँ सत्र १० सेप्टेम्बरमा अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ र त्यहीँ नयाँ खेलहरू थप्ने विषयमा आखिरी निर्णय लिइनेछ । आइओसीको प्रेस विज्ञप्तिअनुसार, कार्यकारी बोर्डले २०२० को ओलम्पिकमा सामेल गराउनका लागि २५ वटा नयाँ खेल सिफारिस गरेको छ ।
ओलम्पिकमा कुस्ती खेल सन् १८९६ को पहिलो आधुनिक संस्करणदेखि नै लगातार खेलिँदै आएको छ । कुस्तीमा दुई किसिमका प्रतियोगिता हुने गरेका छन्– पहिलो हो, ग्रीको–रोमन, र अर्को हो, फ्रि–स्टाइल । गत वर्ष २०१२ मा भएको लन्डन ओलम्पिकमा ३४४ जना कुस्तीबाजले ग्रीको–रोमन स्टाइलमा सात र फ्रि–स्टाइलमा ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
सन् २०१६ को ओलम्पिकपछि हटाइन लागेको कुस्तीको ठाउँमा गोल्फ र रग्बीजस्ता खेल ओलम्पिकमा समावेश गरिन लागेको बताइएको छ । आइओसीको यो निर्णयको विश्वभरिका खेलप्रेमीले सर्वत्र आलोचना गरेका छन् । कुस्तीलाई कुनै पनि अवस्थामा ओलम्पिकबाट हटाउन नहुने उनीहरूको आग्रह छ किनभने, उनीहरूको तर्क छ, कुस्तीको खेल मानव विकासको क्रमसँगै विकास भएको परम्परागत र सबै ठाउँमा खेलिने लोकप्रिय खेल हो । (एजेन्सी)
प्रतिक्रिया