सिमरा, ३ फागुन । मनाङ–मस्र्याङदी क्लब म्याजिक मुमेन्ट्स चौथो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशको क्रममा मनाङले बुधबार बाराको सिमरा रंगशालामा भएको सेमिफाइनलमा प्रतिद्वन्द्वी मच्छिन्द्रलाई १–० ले पराजित गरेको हो । मनाङलाई जित दिलाउने क्रममा सुजल श्रेष्ठले ३२औँ मिनेटमा निराजन मल्लको क्रसमा हेड गोल गरेका हुन् ।
खेलको अधिक समय मच्छिन्द्र हाबी भए पनि आफ्ना दुवै स्ट्राइकर विशाल राई र दीपक राई राष्ट्रिय टोलीको बन्द सत्रमा रहेको मच्छिन्द्रको फिनिसिङमा कमजोर रह्यो । टोलीका सबैभन्दा प्रभावकारी खेलाडी डेनिस इभ्कोले बलमाथि नियन्त्रण राख्दै विपक्षीलाई दबाब दिए पनि उनी पनि फिनिसिङमा प्रभावी देखिएनन् ।
कृष्ण थापाले टोली छाडेपछि छिरिङ लोप्साङको प्रशिक्षणमा रहेको मनाङले खेलका दौरान सिकोलाई नै धेरैजसो बल उपलब्ध गराउने नीति लिएको थियो । तर, उनको त्यो नीति भने सफल भएन । सातौँ मिनेटमा मध्य क्षेत्रबाट पाएको बल सुलभ मास्केले चिप गरेर सिकोलाई मिलाउन खोजे पनि त्यो चिप राम्रो भने रहेन । मोबाइल स्टिफन, जाम्बो र नविन न्यौपानेका कारण मनाङको रक्षापंक्ति बलियो बनेको थियो । ६३औँ मिनेटमा नविन न्यौपानेले गोल लाइनबाट बल क्लियर गर्दै मनाङको संकट टारेका थिए ।
खेल सुरु भएकै आठौँं मिनटमै मनाङले अग्रता लिने अवसर गुमाएको थियो । मच्छिन्द्रको ‘डी’बक्स भित्रै पाएको पासलाई अमिर श्रेष्ठले सदुपयोग गर्न नसक्दा मनाङले अग्रता लिने अवसर खेर फालेको थियो । अमिरले प्रहार गरेको बल मच्छिन्द्रको गोलपोस्टको फस्ट बार बाटै बाहिरिएको थियो । त्यस्तै, खेलको १२औँ मिनेटमा मनाङका डिफेन्डरहरूलाई पन्छाउँदै मच्छिन्द्रका विदेशी खेलाडी डेनिस ओचाले प्रहार गरेको बललाई मनाङका गोल रक्षक इमानुएल दाराले सुन्दर तरिकाले बचाउ गरेका थिए ।
दोस्रो हाफमा मनाङविरुद्ध दबाब कायम राखे पनि मच्छिन्द्रका स्ट्राइकर विशाल, लक्ष्मी नारायण र कर्ण लिम्बूले राम्रा अवसरको सदुपयोग गर्न नसक्दा प्रशिक्षक राजुकाजी शाक्य निराश देखिन्थे । मच्छिन्द्रका उत्कृष्ट प्रहारलाई बचाउ गरेका गोल रक्षक इम्मानुएलले दोस्रो हाफको अन्तिम इन्जुरी समयमा मच्छिन्द्रको अर्को प्रयासलाई विफल पार्दै मनाङको फाइनल भिडन्त सुनिश्चित गरेका थिए ।
बुधबारको खेलका म्यान अफ दी म्याच मनाङका डिफेन्डर विदेशी खेलाडी एन्बिल स्टिफन घोषित भए । बिहीबार हुने दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा र संकटा क्लब भिडनेछन् । फाइनल शनिबार हुनेछ ।
प्रतिक्रिया