वेस्ट इन्डिजलाई सोह्र वर्षपछि अस्ट्रेलियामा जित

crickret-wiमेलबर्न, ३ फागुन । टी–ट्वान्टी क्रिकेटको विश्व च्याम्पियन वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध बुधबार भएको चालु शृंखलाअन्तर्गतको एक मात्र टी–ट्वान्टी क्रिकेट म्याचमा २७ रनले जित हात पारेको छ । क्रिकेटका कुनै पनि ढाँचा– अर्थात् टेस्ट, एकदिवशीय र टी–ट्वान्टीमा पछिल्ला १६ वर्षमा अस्ट्ेरलियाली भूमिमा वेस्ट इन्डिजको यो पहिलो जित हो । टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले ६ विकेटको क्षतिमा १९१ रनको योगफल खडा गरेको थियो । जवाफमा १९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले आठ विकेटको क्षतिमा १६५ रन मात्र जोड्न सक्यो ।

वेस्ट इन्डिजलाई जित दिलाउने क्रममा किरोन पोलार्डले अलराउन्ड प्रदर्शन गरे । उनले १७ बलमा २६ रन जोड्नुका साथै तीन विकेट लिए । फक्नरको बलमा आउट हुनुअघि उनले दुई चौका र एक छक्का प्रहार गरे । वेस्ट इन्डिजका जोन्सन चाल्र्सले ३५ बलमा ५७, ड्वायन ब्राभोले २७ बलमा ३२ रन र एन्ड्रयु रसेलले नटआउट रहँदै ११ बलमा २३ रन जोडे । कप्तान डारेन सामीले सात बलमा २० रन जोडे ।
जोनसन टेलरले तीन दिनअघि मात्र पनि शतक बनाएका थिए तर त्यो शतकले अस्ट्ेरलियालाई एकदिवशीय म्याच जित्नबाट रोक्न सकेको थिएन तर यसपटक भने उनले बनाएको तेज गतिको अर्धशतकले बुधबार भने वेस्ट इन्डिजलाई वास्तविक विश्वच्याम्पियन प्रमाणित गर्न पूर्ण सहयोग पुर्‍यायो । यसको अर्थ, अस्ट्ेरलियाले एकदिवशीय शृंखला ५–० ले क्लिन स्विप गरेको भए पनि वेस्ट इन्डिज यो एकमात्र टी–ट्वान्टी म्याच जितेर कम्तीमा शिर ठाडो पारेरै स्वदेश फर्किन सक्ने भएको छ ।
वेस्ट इन्डिजले पछिल्लोपटक अस्ट्ेरलियामा फेब्रुअरी १९९७ मा भएको पर्थ टेस्टमा जित हात पारे यता कहिल्यै कुनै म्याच जित्न सकेको थिएन । त्यो बेलाको म्याचमा सहभागी एक मात्र सदस्य अहिले बुधबार पनि संलग्न थिए, तर त्यो बेला फास्ट बल रहेका पल रफपेल यसपटक भने अम्पायरको भूमिकामा थिए ।
अस्ट्रेलियालाई १६ वर्षपछि उसकै भूमिमा पराजित गर्ने क्रममा वेस्टइन्डिजका पोलार्डले संयमित बलिङ गर्दै मध्यक्रममा तीन ब्याट्सम्यानलाई आउट गरे । उनले नील बेन रोहरलाई १६, ब्राड ह्याडिनलाई २२ र जेम्स फकनरलाई सात रनमा आउट गरे । रनआउट भएका एडक भोगले अस्ट्रेलियाका लागि सर्वाधिक ५१ रन जोडे । उनले ३३ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे । वेस्ट इन्डिजका सुनील नारायनले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए ।

प्रतिक्रिया