काठमाडौं, २ फागुन । क्षेत्र नम्बर दुई वीरगन्जविरुद्ध एक विकेटले विजयी हुँदै क्षेत्र नम्बर एक विराटनगर पोखरामा जारी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कालिचरन यादवले ह्याट्रिकसहित पाँच विकेट लिएपछि वीरगन्ज ३६.१ ओभरमा ८९ रनमा सीमित भएको थियो । तेस्रो ओभरको दोस्रो, तेस्रो र चौथो बलमा कालिचरनले लगातार विकेट लिएका थिए । नौ रन जोड्दा सात विकेट गुमाएको वीरगन्जका लागि नवौँक्रममा ब्याटिङ गर्न आएका अभिनाश कर्णले सर्वाधिक २७ र १०औँ क्रमका मुस्तकिम मियाले २२ रन जोडे । वीरगन्जले आठौँ विकेटका लागि २७, नवौँ विकेटका लागि १४ र १०औँ विकेटका लागि ३९ रनको योगदान गरेको थियो । वीरगन्जलाई सस्तैमा समेट्नेक्रममा कालिचरनका अतिरिक्त रोहित सिंहले तीन र अमित दाहालले दुई विकेट लिए ।
साँघुरो लक्ष्य भए पनि विराटनगरले सहजै जित हातपार्न भने सकेन । कुनै पनि रन नजोड्दै पहिलो विकेट गुमाएको विराटनगरले ३८.२ ओभरमा लक्ष्य पूरा गर्यो । विराटनगरले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेको विराटनगरले १०औँ विकेटका लागि पाँच रनको साझेदारी गरेको थियो । कठिन खेलमा विराटनगरले २२ अतिरिक्त रन पायो । प्रारम्भिक ब्याट्सम्यान अमोल दासले सर्वाधिक २२ रन जोडे । त्यस्तै अमित दाहालले नटआउट १२, अंकित सुवेदीले १० र मायान्द चौधरीले ९ रन जोडे । बलिङतर्फ वीरगन्जका अविनाश कर्णले तीन विकेट लिए । आठ ओभर बलिङ गर्नेक्रममा दुई मेडन राखेर २४ रनमात्र खर्चिएका विराटनगरका कालिचरण म्यान अफ दि म्याच भए । विराटनगरले क्षेत्र नम्बर चार भैरहवा र क्षेत्र नम्बर पाँच नेपालगन्जबीच हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।
प्रतिक्रिया