कार्यालय खाली गरेर हरिदासको प्रवचनमा

काठमाडौं, २ फागुन । सरकारले तोकेअनुसार कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हो । तर, मंगलबार Haridasतीन बजेपछि नेपाल विद्युत् प्राधिकरण पुग्दा अधिकांश उच्च कर्मचारी कार्यकक्षमा थिएनन् ।

सबैजना एकैचोटि कहाँ गए भनी खोजी गर्दा थाहा भयो, उनीहरू कार्यालय ‘बंक’ गरेर स्वामी हरिदासको प्रवचन सुन्न गएका रहेछन् । प्राधिकरणको नामसमेत जोडेर सेवापयोगी आध्यात्मिक प्रवचन व्यवस्थापन समितिले हरिदासको प्रवचन आयोजना गरेको हो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रवचन सुन्न प्राधिकरणका अधिकांश उच्च कर्मचारी पुगेका थिए । ‘प्राधिकरण कर्मचारीहरूकै प्रयासमा’ आयोजना गरिएको कार्यक्रममा कार्यकारी निर्देशक तथा महाप्रबन्धकसँग १/१ हजार चन्दा उठाइएको थियो ।
मुख्यसचिव एवं प्राधिकरणका अध्यक्ष लीलामणि पौडेलसमेत कार्यालय समयमा प्रवचन सुन्न पुगेका थिए । प्राधिकरणको उच्च व्यवस्थापन आफैँ प्रवचन कार्यक्रमका लागि भिडेको थियो । केही निमन्त्रणा पत्र प्राधिकरणमार्फत लेखिएको थियो भने अन्य पत्रहरूमा प्राधिकरणकै लोगो भएको खाम प्रयोग गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव, प्रशासनका उपकार्यकारी निर्देशक बद्रीनाथ रोक्का तथा प्राधिकरणका महाप्रबन्धकहरू क्रमश: उत्पादन सञ्चालन तथा सम्भारका महेन्द्रलाल श्रेष्ठ, ग्राहक तथा वितरण शाखा पश्चिमका उपेन्द्रदेव भट्ट, पूर्वका चिरञ्जीवी शर्मा, प्रशारण तथा प्रणाली सञ्चालनका राजेश्वरमान सुल्पिया र इन्जिनियरिङका वीरेन्द्र पाठकका साथै अधिकांश निर्देशकहरू प्रवचनमा सहभागी थिए । उपकार्यकारी निर्देशकद्वय लवबहादुर घिमिरे र ईश्वरीप्रसाद खतिवडा तथा महाप्रबन्धकद्वय ग्रिड विकासका गणेशप्रसाद राज र उत्पादन निर्माणका रामचन्द्र पाण्डे भने प्रवचनमा सहभागी नरहेको स्रोतले जनाएको छ ।
अधिकांश हाकिमहरू प्रवचनतिर लागेपछि बाँकी रहेका कतिपय कर्मचारीसमेत कार्यालयबाट बाहिरिएर विद्युतीय हाजिरीका लागि साँझ मात्र कार्यालय फर्किएका थिए । अधिकांश कर्मचारी कार्यालयमा नभएपछि सेवाग्राही प्रभावित भए । ‘म कार्यकारी निर्देशकसँग विद्युत्को पोलबारे गुनासो गर्न आएको थिएँ तर उहाँ कार्यालयमा भेटिनुभएन, अन्य महाप्रबन्धकहरू पनि भेट्न खोज्दा अधिकांश बाहिर भनियो,’ बानेश्वरका वीरेन्द्र श्रेष्ठले भने, ‘पछि कर्मचारीहरूलाई सोध्दा पो हाकिमसाहेबहरू हरिदासजीको प्रवचन सुन्न जानुभएको छ भन्ने थाहा भयो ।’ कार्यकारी निर्देशक तथा महाप्रबन्धकहरूलाई भेट्न गएका सेवाग्राही त्यसै फर्कनुपरेको थियो ।
मुलुकमा दैनिक १२ घन्टा लोडसेडिङ भइरहेकोमा आलोचना खेपिरहेको तथा विद्युत् उत्पादन, वितरण तथा प्रसारण लाइन तीनवटै कामको बोझले व्यस्त बनेको प्राधिकरणका उच्च कर्मचारीले मंगलबार झन्डै तीन घन्टा प्रवचन सुन्न भ्याए । सर्वसाधारण तथा सेवाग्राहीले आफ्नो गुनासो सुनाउन भेट्नै मुस्किल पर्ने उनीहरूले साढे दुईदेखि साढे ५ बजेसम्म प्रवचनमा बिताएका थिए ।
दिउँसो साढे दुई बजेदेखि कार्यक्रम सुरु हुने भनिए पनि साढे तीन बजेदेखि सुरु भएको कार्यक्रम दुई घन्टा चलेको थियो । ‘नैतिक मूल्य र मान्यतालाई समाजमा पुन:स्थापित गर्दै बेचैनीरहित जीवन जिउनका लागि आध्यात्मिक चिन्तन आवश्यक रहेको’ भन्दै कर्मचारीहरूलाई बोलाइएको थियो । प्रवचनको उद्घाटन मुख्यसचिव पौडेलले गरेका थिए । प्रवचनमा हरिदासले प्राधिकरणभित्र बढेको घुसखोरी प्रवृत्तिले लोडसेडिङ बढेको भन्दै घुसको कीर्तिमान नराखी राम्रो काम गरेर नाम कमाउन भनेका थिए ।

प्रतिक्रिया