संगीतकर्मीे बजार खोज्न मलेसिया

काठमाडौं : स्वदेशमा सांगीतिक बजार ओरालो लागेपछि संगीत व्यवसायीले विदेशी बजारको खोजी गर्न थालेका छन् । यसै क्रममा नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बूढाको नेतृत्वमा म्युजिक व्यवसायीको एक पाँच सदस्यीय टोली मेलेसिया पुगेको छ ।

टोलीले एक सातासम्म गीत/संगीतको बजार अध्ययन गर्ने र त्यहाँ रहेका नेपाली व्यवसायीसँग अन्तक्र्रिया गर्ने अध्यक्ष बूढाले जानकारी दिए । डिजिटल प्रवृत्तिमा संगीत बजार र त्यहाँ रहेका विभिन्न टेलिकममा राखिने सिआरबिटीको व्यापार टोलीले अनुगमन गर्ने छ ।
म्युजिक नेपाल कम्पनीअन्तगर्तका गीत अहिले मलेसियाका विभिन्न मोबाइल सेवामा सिआरबिटीमा निक्कै व्यापार भइरहेको उद्योग संघका कोषाध्यक्ष हीरा केसीले बताए । मलेसियामा अहिले नेपाली लोक दोहोरी र आधुनिक गीतको व्यापार बढ्दो छ । त्यही बजारलाई संस्थागत गराउन चिनियाँ नयाँ वर्षको अवसर पारेर टोली मलेसिया गएको हो ।
उक्त देशमा नेपाली गीत सिआरबिटीमा राख्ने तीनवटा टेलिकम छन् । तिनमा म्युजिक नेपाल, सगरमाथा डिजिटल, सितारा म्युजिक, तिर्सना म्युजिक, आशिष म्युजिकलगायत कम्पनीका गीतले राम्रो व्यापार गरेको छ । करिब ७ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत मलेसियामा डाउनलोड गरिएका गीतको रकममध्येको केही सर्जकलाई पनि प्राप्त हुने उद्योग संघका सदस्य बाबुराम बोहराले जानकारी बताए । (सौस)

प्रतिक्रिया