वीरगन्ज, १ फगुन । बाराको सिमरामा जारी म्याजिक मुमेन्ट्स चौथो सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक नवजनजागृती युवा क्लबलाई २–० ले पराजित गर्दै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाको जितमा स्यामुएल ओंगोनो र रितेश खड्काले एक/एक गोल गरे ।
कप्तान निराजन रायमाझीको फितलो प्रदर्शन र कमजोर रक्षापंक्तीको फाइदा लिँदै पहिलो हाफको २८औँ मिनटमा संकटाले आयोजकविरुद्ध अग्रता लियो । कप्तान सल्यान खड्गीको पासमा स्यामुएलले डी बक्सभित्रबाट उत्कृष्ट प्रहार गरेका थिए ।
बिभिन्न क्लबका खेलाडी भएका कारण पहिलो हाफमा समन्वय नमिलेको आयोजक टिम दोस्रो हाफमा खेल सम्हाल्दै आक्रामक रूपमा प्रस्तुत भएको थियो ।
दोस्रो हाफको खेल प्राय: आफ्नो पक्षमा राखे पनि संकटाका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै आयोजक नव जनजागृती युवा क्लबलाई गोल गर्ने मौका नै दिएनन् ।
दोस्रो हाफको इन्जुरी समयमको अन्तिम मिनेटमा संकटाका रितेश खड्काले थप एक गोल गर्दै खेललाई २–० ले आफ्नो पक्षमा पारे । ‘डी’बक्स बाहिरबाट संकटाका कप्तान सल्यान खड्गीले गरेको प्रहार पन्च गरे पनि आयोजकका गोलरक्षकले त्यसलाई सम्हालेर नियन्त्रणमा लिन नसकेपछि गोललाइन नजिक खसेको बललाई संकटाका रितेशले सहजै गोलमा परिणत गरेका थिए । म्याजिक मुमेन्ट्स चौथो सिमरा गोल्डकपमा पहिलोपटकको सहभागितामै सेमिफाइनल प्रवेश गरेको संकटाले मंगलबार सहारा क्लब पोखरा र हिमालयन शेर्पाको बीचमा हुने प्रतिस्पर्धाको बिजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
प्रतियोगिताको सेमिफाइनलमा सुरक्षित हुने संकटा तेस्रो टिम हो । समूह ‘ए’बाट साबिक विजेता मनाङ मस्र्याङ्दी र मच्छिन्द्र यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । ५ फागुनसम्म हुने प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख रुपियाँ पाउनेछन् । सोमबारको खेलमा म्यान अफ दि म्याच संकटाका रक्षक इब्राहिम ओलुसोला घोषित भए ।
प्रतिक्रिया