काठमाडौं : क्षेत्र नम्बर ६ बैतडीलाई ६० रनले पराजित गरी क्षेत्र नम्बर एक विराटनगर पोखरामा जारी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वैतडीको यस हारले क्षेत्र नम्बर पाँच नेपालगन्ज पनि समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्यो ।
समूहका सबै खेलको समाप्तीमा विराटनगर पाँच अंकसहित शीर्षस्थानमा रह्यो भने नेपालगन्ज तीन अंकसहित दोस्रोमा रह्यो । सेमिफाइनलमा विराटनगरले समूह ‘बी’को उपविजेता क्षेत्र नम्बर दुई वीरगन्ज र नेपालगन्जले समूह ‘बी’को विजेता क्षेत्र नम्बर चार भैरहवाको सामना गर्नेछ ।
समूहको आफ्नो अन्तिम खेलमा विराटनगरले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २३० रन जोड्यो । विराटनगरका लागि मायान्द चौधरीले ५२, सुमन श्रेष्ठले ३९ र अमोल दासले ३४ रन बनाए । बैतडी ४४.१ ओभरमा १७३ रनमा समेटियो । बलिङतर्फ विराटनगरका अमित दाहालले चार तथा कालिचरन यादव, हेमन राई र मायान्द चौधरीले समान दुई विकेट लिए । बैतडीका लागि दिलीप नाथले सर्वाधिक ४३ रनको योगदान गरे । (सौस)
प्रतिक्रिया