धरान, २९ माघ । सुनसरीको धरानमा अन्तर्राष्ट्रिय आमन्त्रण इजी राइडर्स महिला भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबार पूर्वाञ्चल भलिबल संघको आयोजनामा धरान–१२ स्थित पब्लिक खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले गरे ।
प्रतियोगिताका उद्घाटन खेलमा आयोजक पूर्वाञ्चल भलिबल संघलाई पश्चिमाञ्चल भलिबल संघले पराजित गरेको छ । पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–८, २५–१४ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो । जितसँगै पश्चिमाञ्चले तीन अंक जोडेको छ ।
दुई अन्तर्राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र ऋषीसरा थापासहित मैदानमा उत्रिएको पश्चिमाञ्चलले पूर्वाञ्चललाई पूरै दबाबमा राखेको थियो । गुरुङको नेतृत्वमा मैदानमा उत्रिएको पश्चिमाञ्चल पूर्वाञ्चलभन्दा निकै सशक्त देखिएको थियो । जीवनी राईको नेतृत्वमा रहेको पूर्वाञ्चलका खेलाडीहरूले भने फिक्का सावित भए । दर्शकको राम्रो साथ पाएको पूर्वाञ्चलमा खेलाडीमा आपसी तालमेल पनि मिलेको थिएन । यी दुवैले अबको खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछन् । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको लिग चरण अन्तर्गत भोलि समूह ‘बी’×मा रहेको न्यु डाइमन्ड एकेडेमी काठमाडौँ र कोच विहार भारतबीच पहिलो र समूह ‘ए’को पूर्वाञ्चल र नेपाल पुलिस क्लबबीच हुने संयोजक थमन गुरुङले जानकारी दिए । एक अन्तर्राष्ट्रिय टिमसहित ६ टिम सहभागी रहेका प्रतियोगिता ३ फागुनसम्म चल्नेछ ।
उद्घाटन कार्यक्रममै पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी गंगाबहादुर थापा मगर, ऋषीराज आचार्य र दीपक सापकोटालाई सम्मानित गरियो । इजी राइडर्सको मूख्य प्रायोजन तथा आबिएम बिग इन्टरप्राइजेज सह प्रायोजक रहेको प्रतियोगिताको विजयी टोलीले १ लाख तथा उपविजेताले ५० हजार रुपियाँ पाउने छन् । त्यस्तै तेस्रो हुने टोलीले २५ र चौथो हुनेले १० हजार पाउने छन् ।
प्रतिक्रिया