रेपिडमा प्रकाश च्याम्पियन

काठमाडौ : मानबहादुर निरौला स्मृति रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि दमकका युवा खेलाडी प्रकाश नेपालले हात पारेका छन् । अपराजित प्रकाशले ५ चरणबाट ४ दशमलब ५ अंक हासिल गरे । उता ब्लिजतर्फ दोस्रो स्थान हात पारेका पूर्वनेपाल च्याम्पियन शूरवीर लामा रेपिडमा पनि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । ५ मध्ये १ खेल गुमाउन पुगेका लामाको खातामा ४ अंक रह्यो । निरज निरौला ३ दशमलव ५ अंकका साथ तेस्रो स्थानमा रहेभने टाइब्रेकरमा पछि परेका सुमन श्रेष्ठ तथा विजय मगर चौथो तथा पाँचौँ स्थानमा रहन सफल भए ।
मानबहादुर दिलमाया निरौला स्मृति प्रतिष्ठान तथा ध्रुवतारा स्र्पोटिङ क्लब झापाको संयुक्त आयोजनामा सम्पन्न २ दिने चेस महोत्सवमा विभिन्न ६ जिल्लाका ४७ खेलाडीको सहभागिता रहेको थियो । यसअघि शनिबार सम्पन्न दिलमाया निरौला स्मृति ब्लिजतर्फको उपाधि राजन सुवेदीले हात पारेका थिए ।
नेपाल बुद्धिचाल संघका उपाध्यक्ष विदुरप्रसाद गौतमले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे । कार्यक्रम संयोजक तथा मानबहादुर र दिलमाया निरौलाका छोरा निरज निरौलाले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताए । (सौस)

प्रतिक्रिया