प्रधानमन्त्रीको बांगो नियत

dayalअरू सबै प्रतिगामी आफूहरू मात्र क्रान्तिकारी, अरू सबै अलोकतान्त्रिक आफूहरू मात्र लोकतन्त्रवादी, अरू सबै जनविरोधी आफूहरू मात्र जनवादी भएको दाबी गर्नेमा माओवादीले सबैलाई उछिनिसकेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीको युगल जोडी त झन् सबैभन्दा अगाडि छ । तर, सत्य ठीक त्यसको विपरीत रहेको छ । यो जोडीले आलु खाएर पेडाको धाक जति लगाए पनि कालो इतिहासको भूतले लखेट्न छोडेको छैन । भारतको जवाहरलाल नेहरूविश्वविद्यालयमा अध्ययनरत छादा यो दम्पतीले उक्त विद्यार्थी आन्दोलन तुहाउन कुनै हर्कत बाकी नराखेको तत्कालीन अनेरास्ववियु (पााचौं) र नेविसंघ सम्बद्ध नेता कार्यकताहरूले आफँ बिर्सिएका छैनन् ।

पाकिस्तानमा सैनिक सरकारले जननिर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई अपदस्थ गरी फासी दिएको विरोधमा नेपालस्थित पाकिस्तानी राजदूतावासअगाडि नेपाली विद्यार्थीहरूले प्रदर्शन गरे । पञ्चायती शासकहरू दमनमा उत्रिए । राजा र पञ्चहरूको सातो उडाउने गरी विद्यार्थी आन्दोलनले चर्को रूप लियो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूमाथि भएको प्रहरी दमनविरुद्ध दिल्लीस्थित नेपाली दूतावासअगाडि त्यहा अध्ययनरत नेपाली विद्यार्थीहरूले विरोध जनाउादै आन्दोलनमा ऐक्यवद्धता जनाए । सरकारी कोटामा भारतमा अध्ययन गरिरहेका विद्यार्थी आन्दोलनका विरुद्धमा विद्यार्थी नै उतार्न भट्टराई र यमीले कुनै कसर बााकी राखेनन् । उनीहरू आन्दोलनकारी विद्यार्थीहरूको डेराडेरामा गएर धम्की दिन र प्रलोभनमा पार्न सक्रिय रहे । पर्दा पछाडिबाट उनीहरूलाई दरबारिया बुद्धिजीवी ऋषिकेश शाह, दिल्लीका विश्वास पात्रहरू एसडी मुनी, पी के थराकान र भारतका लागि तत्कालीन राजदूत वेदानन्द झाले परिचालन गरेका थिए । यसरी ऋषि, मुनीहरूको चरणचुम्बन गरेर पञ्चायती राजनीतिको केन्द्रभागमा पुग्ने भट्टराईको महत्त्वाकांक्षाले त्यतिबेला हावा खायो, जतिबेला नेपालमा विद्यार्थी आन्दोलनले राजा वीरेन्द्र र निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाइ छाड्यो । जनताको संगठित शक्ति र चेतनाले पञ्चायतको जरो हल्लाएपछि राजा वीरेन्द्र जनमत संग्रह घोषणा गर्न बाध्य भए । यसको असर पञ्चायत निकट विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलमा आवद्ध मण्डलेहरूमा पर्‍यो । मण्डलेहरू विकसित नयाँ परिस्थितिको आँकलन गर्दै दुई भागमा विमाजित भए । पहिलो कोटिका मण्डलेहरू क्याम्पस क्याम्पसबाट अनेरास्ववियु र नेविसंघका नेता कार्यकताहरूलाई भौतिक रूपमा समाप्त पार्ने भाकाकबोलसहित चुल्ठे मुन्द्रे भिजिलान्ते बनेर पञ्च महापञ्चहरूको सेवामा अझ संगठित ढंगले समर्पित भए । दोश्रो कोटिका मण्डलेहरू वामघटक र नेपाली कांग्रेसमा घुसेर लोकतान्त्रिक आन्दोलनलाई भित्रैदेखि कमजोर पार्न थाले । यसरी छेपारोको जुनी ग्रहण गरेर रंग फेर्ने अवसरवादीहरूका जिउँदोजाग्दो दृष्टान्त भट्टराई र यमी हुन् । राजावादीपछि लोकतन्त्रलाई माओवादीले थिलोथिलो पार्न सक्नुको कारण यो दम्पतीको कालो विगत र बांगो नियत हो । यसरी कमल थापा र बाबुराम दुवै जुम्ल्याहा ठग भएकाले नै नेपालको लोकतान्त्रिक आन्दोलनले हन्डर खाएको छ ।
मयूरको प्वाँख सिउरँदैमा काग मयूर हुँदैन । मण्डलेको कलंकित विगतबाट छुटकारा पाउने अवसरवादी प्रयत्नहरूको शृंखलाले भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याए पनि उनी खाँटी लोकतन्त्रवादी हुन यो जुनीमा संभव छैन । पञ्चायती कालरात्रीको बेला खुरुखुरु पढ्ने यो जोडी बुर्जुवा शिक्षा बहिस्कार, भूमिगत जीवन, जेलनेल र कुर्बानीको कष्टसाध्य बाटो पार गरेर आएका सच्चा लोकतन्त्रवादीहरूसँगको लामो प्रतिस्पर्धामा टिकिरहन असम्भव छ । अवसरवाद भद्दा ढंगले प्रकट भएको यो क्षण सदावहार रहने छैन । वामपन्थी आन्दोलनरूपी हरियो घाँसमा लुकेको हरियो सर्प जस्तै अवसरवाद कसरी छिपिएर रहन्छ भट्टराई यमी दम्पतीको तीन दशकयताका गतिविधिहरूको सूक्ष्म ढंगले अध्ययन गर्दा प्रस्ट हुन्छ । २०३६ सालतिर दिल्लीमा आफ्नो लोकतन्त्र विरोधी लीला छरप्रस्ट भएपछि मण्डले पृष्ठभूमिबाट मुक्ति पाउन भट्टराई मोहनविक्रम सिंहलाई भेट्न गोरखपुर हानिए । भट्टराईले ‘पाप मोचन पत्र’को रूपमा अखिल छैठौं र ‘अभानेविसंघ’को सदस्यता पाए भने सिंहले भारतको खुफिया संस्था ‘रअ’ सम्म पहुँच भएका अवसरवादी बुद्धिजीवी भेटाए । निष्ठा र क्षमताभन्दा पनि प्रवेशिकामा नेपाल प्रथम भएको वायोग्राफी भट्टराईको पार्टीभित्रका प्रतिस्पर्धीहरू समाप्त पार्नका लागि घातक हतियार साबित हँुदै आएको छ ।
जोवनछँदा पुष्पकमल दाहाल र डा. भट्टराईको जोडाले गुलेलीसम्म उठाएनन् । युवाहरूलाई सहिदको कोटाको अवधारणा पस्कने यो जोडाले सेनापति काण्डको बेला उदाहरण बन्नु पर्नेमा कायरतापूर्वक हतारहतार बालुवाटार र हरिहरभवन खाली गरेको धेरै भएको छैन । पामरहरूले अहिले गोली खाने, सेरिने, बेरिने फेरि बन्दुक उठाउने भनी डंका पिट्नुको कुनै तुक छैन । कथित जनयुद्धताका जनताका छोराछोरीको हातमा बन्दुक थमाएर आफ्ना छोराछोरीलाई विदेशका महँगा विद्यालयमा भर्ना गरी ल्यापटप थमाएको पनि कसैसामु छिपेको विषय होइन । यति हुँदाहुँदै पनि उपयोगितावादीहरू मुलुकलाई घनचक्करमा पार्न कम्मर कसेर लागेका छन् ।
बिप्पा सम्झौता, भारतमा लगानी बोर्डको स्थापना र अन्तर्राष्ट्रिय विमानस्थलको बहानामा भन्सार सुरक्षाको जिम्मा भारतलाई सुम्पिने दुष्प्रयास, देश नै भारतमा विलय गराउने मर्जवादी दर्शनको निरन्तरको दुष्प्रयास, माओवादीको विभाजन गराईं राष्ट्रवादी अवशेषसम्म उक्त पार्टीमा बाँकी नराख्ने प्रपंच, संविधान सभाको विना प्रयोजन विघठन, सहमतीय राजनीतिको पटाक्षेप लगायतका हर्कत हेर्दा भट्टराईले भारतका लागि दास शिरोमणिको स्थान ग्रहण गरिसकेको प्रस्ट हुन्छ । यिनलाई सत्तामा थमाएर नेपालको दोहन गर्ने भारतीय रुचिकै कारण नेपालको राजनीतिले जटिल मोडको सामना गर्नु परेको छ । ठूला देशले साना छिमेकी मुलुकमा यदाकदा यस्ता प्रयोगहरू पस्किनु भूराजनीतिका विद्यार्थीका लागि अनौठो र नौलो होइन । जनसमुदाय, लोकतान्त्रिक दलहरू, राष्ट्रपति, अदालत, राष्ट्रसेवक सेना, प्रहरी र कर्मचारी तथा प्रेस जगत्को सचेतना र एकताका अगाडि बाह्य रुचि र दासहरूको चुरिफुरी टिक्न सक्ने छैन । मुलुकको साँचो प्रभुको हातमा सुम्पिएर नेपालमा भुटानीकरणको प्रयोग गर्न खोज्ने गुप्तचरी गिरोह असफलताको नमीठो स्वाद चाख्न बाध्य हुनेछ । राजाको ठाउमा अधिनायकवाद स्थापना गरेर भुटानमाझैँ जातीय विद्वेषको धमिलो पानीमा लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्नकै लागि दाहाल र भट्टराई दिल्लीसामु दुई दशकदेखि लम्पसार परेका हुन् । एमालेले बडो कष्टले वामपन्थी बनाएका नेता कार्यकताहरूलाई पुन: जातिवादमा फर्काउने दाहाल–भट्टराई षड्यन्त्र प्रतिगामी प्रकृतिको छ ।
कुनै पनि चीजको पनि आदि, मध्य र अन्त्य हुन्छ । गुप्तचरी गुट पतनको डिलमा पुगिसकेको छ । चटकेको इशारामा नाँच्ने भालु केटाकेटीको नजरमा डरलाग्दो, युवायुवतीको नजरमा रहरलाग्दो र बुढापाकाको नजरमा दयालाग्दो भएजस्तै पराहीको इशारामा चल्ने गोटीहरू कमजोर हँुदै गएका छन् । भट्टराईकै शकुनी भूमिकाका कारण राजनीतिक गुरु मोहन वैद्य, सुखदु:खका साथी सीपी गजुरेल र रामबहादुर थापा (बादल), कुशल संगठकहरू देव गुरुङ, पम्फा भुसाल, नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, खड्कबहादुर विश्वकर्माहरू बाहिरिएपछि पुष्पकमल दाहाल दाह्रानग्रा झिकिएको बाघ जस्ता भैसकेका छन् । मुटुमाथि ढुंगा राखी हाँस्नु बेग्लै कुरा हो । त्यसो त रोएर हाँसो प्रकट गर्नु र हाँसेर पीडा पस्कनु माओवादी पागलपनको लक्षण नै हो । तामझामसहित एमाले र कांग्रेसबाट बाहिरिएका देउवा र गौतमका खुट्टा परालका साबित भएको देख्दादेख्दै वैद्यले कार्टुन हुने गल्ती गरेका होइनन् भने अवसरवादी गुप्तचरी गुटको पतन अवश्यभावी छ । देउवा र गौतममा नपाइएको ‘दम’ कदाचित वैद्यमा भेटिएको खण्डमा उडायो सपना सबै हुरीले दृष्टान्त प्रचण्ड हुनेछन् । त्यतिबेला माओवादी नेताहरूका जुल्फी र जेलको मित्रमिलन टुट्ने छ । बरु जुँगा, दाह्री र केशराशिहरू पुन: जुम्रा र लिखाका निकुञ्जमा रूपान्तरित हुनेछन् ।

प्रतिक्रिया