काठमाडौं, २८ माघ । पाकिस्तानविरुद्ध शनिबार दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल १–० ले पराजित भएको छ । कप्तान सागर थापाको ५० औँ अन्तर्राष्ट्रिय खेलको रूपमा रहेको मैत्रीपूर्ण खेलमा नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै पाकिस्तानी टोलीका वैकल्पिक खेलाडी मोहम्मद मुजादले गोल गरे । यससँगै पाकिस्तानले नेपालसँगको लगातार तीन मैत्रीपूर्ण खेलमा जित हात पारेको हो । पाँच वर्ष अघि पोखरामा भएको मैत्रीपूर्ण खेलको पछिल्लो लेगमा २–० ले विजयी पाकिस्तान यसै साता १–० ले जित हात पार्न सफल भएको थियो ।
पहिलो खेलको भन्दा परिवर्तित टोलीसहित खेलेको नेपाल पहिलो हाफमा प्रभावकारी देखिएको थियो । तथापि यस खेलमा समेत राम्रो खेल्न नसके पछि मनाङ मस्र्याङ्दी क्लबका स्ट्राइकर अनील गुरुङ राष्ट्रिय टोलीमा रहनुको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।
एपिएफका मिडफिल्डर राजेन्द्र रावल वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे पनि उनले पनि कुनै प्रभाव छाड्न सकेनन् । लेºट ब्याक रबिन श्रेष्ठ खेलमा प्रभावी रहे भने वैकल्पिक खेलाडी अमर डंगोल पनि प्रभावकारी देखिएनन् । सन्तोष साहुखलसमेत फेरि एकपटक निश्प्रभावी रहे । दोस्रो हाफको सुरुआतमै राजु तमाङलाई प्रतिस्थापन गर्दै वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेको निराजन खड्काका कारण केही मुभ बने पनि उनले अन्य खेलाडीको त्यत्ति साथ पाउन सकेनन् । निराजन मैदान प्रवेश गर्दा भोला सिलवाल र जगजीत श्रेष्ठ प्रतिस्थापन भइसकेका थिए ।
पहिलो खेलमा भन्दा प्रभावकारी रहेको पाकिस्तानी टोलीका यासिर अफ्रिदीले समयसमयमा लामो प्रहार गरेका थिए । प्राय: फ्रेममा नै प्रहार गरेका अफ्रिदीले १७औँ मिनेटमा प्रहार गरेको भली भने साच्चै स्तरीय थियो । नेपाली टोलीका गोलरक्षक किरण चेम्जोंगले त्यसलाई मुश्कीलले बचाए । हसन बासीरले पहिलो हाफमा गरेको त्यत्तिकै उत्कृष्ट प्रहार पनि किरणले बचाए ।
पहिलो खेलमा भन्दा दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरे पछि नेपालका प्रमुख प्रशिक्षक ज्याक स्टेफानोस्कीले नेपाली खेलाडीमा समन्वयको अभाव रहेको र यसै कारणले गोल अबसर सिर्जना नभएको बताउँदै यो कमजोरी सुधार्न धेरै खेल खेल्न आवस्यक रहेको बताए ।
कप्तान सागरले ५०औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गर्न पाउँदा खुसी लागे पनि टोलीको कमजोर प्रदर्शनप्रति चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया