एपिएफ पराजित, संकटा क्वार्टरमा

वीरगन्ज, २८ माघ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब सिमरामा जारी चौथो म्याजिक मुमेन्ट्स सिमरा गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार सिमरा रंगशालामा भएको समूह ‘बी’ को प्रिक्वार्टर फाइनलमा संकटाले एपिएफलाई २–१ ले पराजित गर्दै क्वार्टफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो । संकटाको जितमा डिकेस खड्का र स्यामुएल ओङ्गोनोले एक एक गोल गरे भने एपिएफका लागि गणेश लावतीले गोल गरे ।

पहिलो हाफको ३९औँ मिनटमा एपिएफका गणेश लावतीले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाट बाहिरियो ।
दोस्रो हाफको शुरुआतबाटै सुधारात्मक खेल प्रदर्शन गरेको संकटाले दोस्रो हाफको २८औँ मिनटमा बराबरी गोल फर्कायो । एक–एकको बराबरी पछि निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफका धेरै प्रयास संकटाका अफ्रिकी गोल रक्षक एन्डोय पिएराले बिफल पारे । पहिलो हाफमा पनि संकटाका गोल रक्षक पिएराले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो हाफको १३औँ र १७औँ मिनटमा एपिएफका गणेश लावतीको वन भर्सेज वनको प्रहार रोकेका संकटाका गोलरक्षक खेलको म्यान अफ दि म्याच घोषित भए ।
राम्रा अवसर खेर फाल्दै गएपछि अतालिएको एपिएफले खेल सम्हाल्न नसक्दा अतिरिक्त समयको १५औँ मिनटमा संकटाका स्यामुएल ओङ्गोनोले टिमलाई २–१ को अग्रता दिलाए । संकटाका कप्तान सल्यान खड्गीको सटिक पासलाई ‘डि’बक्स बाहिरैबाट सुन्दर गोलमा रूपान्तरण गर्दै ओङ्गोनोले संकटाको जित सुनिश्चित गरे । आइतबार हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया