ट्राफिक नियम उल्लंघन गर्नेमा लेन मिच्ने बढी

काठमाडौं, २८ माघ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको कारबाहीमा सबैभन्दा बढी सडक लेन अनुशासन उल्लंघन गर्ने सवारी चालक परेका छन् । काठमाडौं उपत्यकामा गत मंसिरमा थालेको ट्राफिक कारबाहीमा परेका १२ हजार सात सय ४८ सवारी साधनका चालकमध्ये पाँच हजार एक सय ३५ लेन अनुशासन पालना नगर्ने छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अभियानअन्तर्गत सादा पोसाकका ट्राफिक २६ मंसिरमा सडकमा परिचालन गरिएको थियो । जथाभावी ‘पिक एन्ड ड्रप’ गर्ने, बसको ढोका खुला छाड्ने, पार्किङ निषेधित ठाँउमा रोक्ने, सडकमा पार्क गर्ने चालक पनि कारबाहीमा परेका छन् । उपत्यकामा एक हजार एक सय ७० ट्राफिक प्रहरी पोसाकमा खटिए पनि पर्याप्त हुन नसक्दा ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि महाशाखाले विशेष अभियान चलाएको हो । जथाभावी रोक्ने, ओभरटेक गर्ने, जथाभावी सवारी साधन मोड्ने, वान वेबाट चलाउने, डिभाइडरमा लगाएको डोरी चुडाएर सवारी साधन मोडने, रफ ड्राइभिङ गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गर्ने, मोवाइल प्रयोग गर्नेजस्ता लापरबाही सवारी चालकले गर्दै आएका छन् । अभियानले यस्ता गतिविधीमा कमी ल्याउने महाशाखाको अपेक्षा छ ।

प्रतिक्रिया