फुटबलको प्रतिष्ठालाई म्याच–फिक्सिङले चुनौती

Brazils-coach-Felipe-Scolखेल जित्नका लागि खेलिन्छ, हार्नका लागि कोही खेल्दैन । जितमा नै सबै कुरा हुन्छ, सम्पन्नता, गौरव र सान । जित्नेहरू नै नायक हुन्छन् । सामान्य अनुमान हो, खेल्नेहरू हार्न चाहँदैनन् । तर, फुटबलको व्यावसायिक विकाससँगै हार्न चाहनेहरू पनि थुप्रै भेटिए । खेलमा हार्नु अपराध होइन । तर, हार्न चाहनु भने पक्कै अपराध हो । यस कारण हार्नका लागि खेल्नेहरूलाई आजीवन काराबाससम्मको माग हुन थालिसकेको छ ।

हार्न चाहनेका समाचारले पछिल्लो महिना फुटबलको बजार बहुतै तात्यो । युरोपका प्रहरी अधिकारीले संसारभर ६ सय ८० खेलमा मिलेमतो भएको दाबी गरेपछि यसले धेरैलाई आश्चर्यमा पार्‍यो । थुप्रैले खेल मिलेमतोका बारेमा आफ्नो प्रतिक्रिया व्यक्त गरिसकेका छन् । ९० को दशकका चर्चित डेनिस फुटबलर तथा स्वान्सा सिटीका मेनेजर माइकल लाउड्रुपले मिलेमतोमा संलग्न हुनेलाई आजीवन प्रतिबन्ध लगाउनुपर्ने धारणा व्यक्त गरे । ‘खेल जित्नका लागि हो । हार्नका लागि प्रयास गरिन्छ भने त्योभन्दा ठूलो अपराध हुनै सक्दैन,’ १८ महिनाअघि युरोपका प्रहरी अधिकारीले खेल मिलेमतोका सम्बन्धमा छानबिन सुरु गरेका थिए । यसबीचको छानबिनले ६ सय ८० खेलमा मिलेमतो भएको र त्यसमा ४ सय २५ क्लब अधिकारी संलग्न रहेको जनाइएको छ । ‘अर्को क्लबसँग जित्नका लागि पैसा लिनु स्वीकारयोग्य हो । तर, हार्नका लागि पैसा लिनुचाहिँ खराब,’ लाउड्रुपले भने । फुटबलको सर्वोच्च निकाय फिफाले खेल मिलेमतोमा आजीवन प्रतिबन्ध र लामो समयको काराबासबारे छलफल गरेको थियो ।
सबैभन्दा चर्चित खेल मिलेमतोको घटना २००६ को इटालियन सेरी ए रहेको छ । जुन खेल मिलेमतोमा सेरी एका चर्चित क्लब युभेन्ट्स, लाजियो, एसी मिलान र फियोरेन्टिना संलग्न भए । त्यो मिलेमतोपछि ए डिभिजनको हैसियत गुमाएको युभेन्ट्स फेरि ए डिभिजनमा आउन नै संघर्ष गर्नुपर्‍यो ।
प्रहरी अधिकारीको त्यो रिपोर्टपछि नै अन्य विभिन्न खाले प्रतिक्रिया व्यक्त हुन थाले । वेल्सका मेनेजर क्रिस कोलेमानले रेफ्रीसमेत खेल मिलेमतोमा संलग्न हुने गरेको आशंका व्यक्त गरेका छन् । यसअघि स्पेन र ग्रिसमा व्यावसायिक प्रशिक्षकका रूपमा कार्यरत कोलेमानले रेफ्रीका कतिपय निर्णय नियतवश भएझैँ लागे पनि प्रमाण नभएका कारण चुप लागेको बताएका छन् । सन् २००७ र २००८ मा रियल सोसाइडाड तथा सन् २०१० र २०११ मा लारिसामा काम गरेको कोलेमानले कतिपय क्षणमा खेलाडीले गर्ने गल्ती र रेफ्री निर्णय हेर्दा दुवै अभिनयझैँ लाग्ने गरेको बताए । कोलेमानले खेलजीवनभर आफ्ना खेलाडीमाथि कहिल्यै शंका नगर्न भनेकोसमेत बताए ।
इटालीमा म्याच फिक्सिङलाई अस्वीकार गरेका कारण चर्चामा आएका सिमोन फरिनाले म्याच फिक्सिङ रोक्न फिफा मात्र नभई इन्टरपोलसमेत सक्रिय हुनुपर्ने बताए । गत नोभेम्बरमा फरिनालाई सेसेना र उनको क्लब गुबियोबीचको इटालियन कपको खेलका दौरान हार्नका लागि २ लाख युरोको प्रस्ताव आएको थियो । हाल आस्टन भिल्लाका कम्युनिटी प्रशिक्षक रहेका फरिनाले फिफा र इन्टरपोल मिलेमा यसखाले घटनामा कमी आउनसक्ने बताए । दक्षिण अफ्रिकी रेफ्री कमिटीका प्रमुख स्टिभ गोडार्डले खेल मिलेमतोको भन्डाफोर गर्न सबैको इच्छाशक्ति हुनुपर्ने बताएका छन् ।
फिफा अध्यक्ष सेप ब्लाटरलाई यो प्रसंगले नछुने कुरै भएन । ब्लाटरले फिफाअन्तर्गत नै भएका खेलमा पनि मिलेमतो हुनसक्ने बताएका छन् । प्रहरीले युरोपमा ३ सय ८० र योभन्दा बाहिर ३ सय खेलमा मिलेमतो भएको जनाएको थियो । युरोपमा यसखाले रिपोर्ट आए पनि एसिया र अस्ट्रेलियाका अधिकारीहरू आफ्नो क्षेत्रमा खेल मिलेमतो नभएकोमा विश्वस्त रहेका छन् । महँगो मानिएको अस्ट्रेलियाको ए लिग खेलमा पछिल्लो समय प्रहरी अधिकारी र फुटबल अधिकारी मिलेर छानबिन गरेका थिए । एसिया–अस्ट्रेलियाका कार्यकारी डेबिड ग्यालोपले छानबिनपछि यो दाबी गरेका हुन् । दुई प्रिमियरसिप प्रशिक्षक रोबर्टो मार्टिनेज र मार्टिन जोले इंग्लिस प्रिमियरसिपमा मिलेमतो नभएको दाबी गरेका छन् ।
युरोपोलले यो रहस्योद्घाटन गरेपछि त्यहाँको प्रहरीलाई सहयोग गरिरहेको सिंगापुर प्रहरीले थप प्रमाण फेला पर्नसक्ने जनाएको छ । रोममा भएको छानबिनले सिंगापुरमा रहेको एउटा गिरोहको संलग्नता रहेको पनि देखाएको थियो । ‘डान टान इएनजी’ ले त्यहाँ भएको खेल मिलेमतोमा सूत्रको काम गरेको थियो ।
‘खेल मिलेमतो सबै देशको समस्या हो । सबै मिलेर यसमा लाग्नुको विकल्प छैन,’ सिंगापुर पुलिसले विज्ञप्ति जारी गरेको छ । डानटानलाई रोम प्रहरीले खोजेको छ भने जर्मनीमा पनि यसको संलग्नता हुन सक्नेछ । सन् १९९० मा मिलेमतोको समस्या देखिनुपूर्व सिंगापुरकै लिग र मलेसियामा खेल मिलेमतो हुने गथ्र्यो ।
प्रहरीको रिपोर्टअनुसार यो समूहले इन्टरनेटमा बाजी लगाउने र आफूअनकूल नतिजा निकाल्नका लागि पैसा पठाउने गरेको जनाइएको छ ।

सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकप खेलमा मिलेमतो भएको प्रमाण नभेटिएको तर आशंका गरिएको सबैभन्दा ठूलो खेल हो । उक्त विश्वकपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहमा शीर्षस्थान पाउने टोलीले फाइनल खेल खेल्न पाउँथ्यो भने दोस्रो हुनेले तेस्रो स्थानका लागि खेल्थ्यो । ब्राजिल, पेरु र अर्जेन्टिना एउटै समूहमा रहेका थिए । अर्जेन्टिनाले समूहको अन्तिम खेल पेरुसँग खेल्नुपर्ने थियो । त्यो खेल अर्जेन्टिनाले ६–० ले जित्यो र गोलअन्तरले ब्राजिललाई पछि पार्दै फाइनल प्रवेश गर्न सफल भयो । यसपछि नै हरेक लिगकम नकआउटका प्रतियोगिताका अन्तिम लिग खेल भिन्न मैदानमा एउटै समूहमा गर्न थालिएको हो ।
सन् २००४ मा डेनमार्क, स्विडेन र इटाली एउटै समूहमा रहँदा अन्तिममा कुनै खेल डेड गेम भए त्यसको गणना नहुने चलन थियो । इटालीले अन्तिम खेलमा बुल्गेरियालाई २–० ले जित्दा अर्को खेलमा स्विडेन र डेनमार्क २–२ गोलको बराबरी भयो । बढी गोल गरेको आधारमा स्विडेन र डेनमार्क अर्को चरणमा प्रवेश गरे । अनुमान गरिएको र प्रमाण नभेटिएको खेलका रूपमा यो पनि रहेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया