उदयपुर, २६ माघ । राजधानी उपत्यकाको थ्री–स्टार क्लबले गाईघाटमा सम्पन्न उदयपुर गोल्ड कपको उपाधि सफलतापूर्वक रक्षा गरेको छ । उपाधि रक्षाको क्रममा डिफेन्डिङ च्याम्पियन थ्री–स्टारले बिहीबार भएको फाइनलमा काठमाडौंकै हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्यो ।
उपाधिसँगै थ्री–स्टारले १ लाख ५० हजार रुपियाँ नगद पुरस्कार पायो । एसियाली फुटबल महासंघका उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले उपाधि विजेतालाई पुरस्कार प्रदान गरे । उप–विजेता हिमालयन शेर्पाले १ लाख रुपियाँ पायो । दोस्रो मिनेटमै थ्री–स्टारका भिक्टरले गोल गरे । हिमालयन शेर्पाका हेमन्त गुरुङ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता हिमालयन शेर्पाका होप र्याली र थ्री–स्टारका भिक्टर भए । उनीहरूले ३/३ गोल गरेका थिए । उनीहरूलाई ५/५ हजार रुपियाँ प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी थ्री–स्टारका भिक्टर भए । यस वापत उनले १० हजार रुपियाँ पाए ।
थ्री–स्टारले पहिलोचरणको खेलमा मोरङ ११ लाई पराजित गरेको थियो भने सेमिफाइनलमा एपिएफ क्लव काठमाडौंलाई पराजित गरी फाइनलको यात्रा तय गरेको थियो । हिमालयन शेर्पाले पहिलो चरणको खेलमा नाइट चेस क्लब झापालाई पराजित गरेको थियो भने सेमिफाइनलमा सरस्वती क्लब काठमाडौंलाई पराजित गरी फाइनलको यात्रा गरेको थियो । फाइनल खेल करिब १५ हजार दर्शकले हेरेका थिए । आयोजकले विद्यार्थीलाई नि:शुल्क गरे पनि सर्वसाधारणका लागि अन्य दिनभन्दा दोब्बर रकम बढाएर एक सय रुपियाँ टिकट शुल्क तोकेको थियो । प्रतियोगितामा मोफसलका चार र राजधानीका चार गरी आठ टोली सहभागी थिए । सहभागी टोलीमा मोरङ ११, आयोजक उदयपुर ११, राष्ट्रिय जागृति क्लब सुनसरी, नाइट चेस क्लब झापा, सरस्वती क्लब काठमाडौं, एपिएफ क्लब काठमाडौं, थ्री–स्टार क्लब र यति हिमालयन शेर्पा क्लब काठमाडौं थिए । उपाधि जित्ने क्रममा थ्री–स्टारले गत वर्ष फाइनलमा नाइटचेस क्लबलाई पराजित गरेको थियो ।
प्रतिक्रिया