काठमाडौं : दमक बहुमुखी क्याम्पस झापाका प्रकाश नेपालले अन्तरकलेज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । प्रकाशले सात चरणको खेलमा शतप्रतिशत जितसहित खेल जीवनको सबैभन्दा ठूलो उपाधि जिते । यसअघि उनले झापाको स्थानीय स्तरको प्रतियोगितामा मात्र उपाधि जितेका थिए । उनले छैटौँ चरणमा टाइम्स इन्टरनेसनल कलेजका विवेक लामालाई पराजित गरेभने सातौँ तथा अन्तिम चरणमा गोल्डेनगेट इन्टरनेसनल कलेजका याइसास खम्बूलाई हराए ।
उच्च माध्यमिक शिक्षा परिषद् तथा हिसानको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा टाइम्स कलेजका विवेक लामा ६ अंकसहित दोस्रो भए । यस वर्ष सानदार फर्ममा रहेका प्रतियोगिातका शीर्ष वरीयताका खेलाडी गोल्डेनगेटका रूपेश जयसवाल तेस्रो स्थानमा रहे । हेड–टु–हेडका नतिजाका आधारमा विवेक दोस्रो भएका हुन् । विवेकले सातौँ चरणमा ट्रिनिटी इन्टरनेसनल कलेजकी अस्मिता अधिकारीलाई पराजित गरेभने रूपेशले आफ्नै कलेजका राजनकुमार यादवलाई हराए ।
साउथ वेस्ट कलेजका रोहन डंगोल तथा भिएस निकेतनका अनिल शिल्पकार समान ५ दशमलव ५ अंकका साथ संयुक्त चौथो स्थानमा रहे । गोल्डेनगेट कलेजका राजनकुमार यादव ५ अंकका साथ छैटौँ स्थानमा रहे । समान ५ अंक बटुलेका गोल्डेनगेटकै याइसास खम्बू, निस्टका कृष्णदेव चौधरी गोल्डेनगेटका फैजल अलि तथा साउथवेस्ट कलेजका श्यामकृष्ण न्यौपाने क्रमश: सातौँदेखी दसौँ स्थानमा रहन सफल भए ।
छात्रातर्फको उपाधि भने ट्रिनिटी इन्टरनेसनल कलेजकी अस्मिता अधिकारीले हात पारिन् । अस्मिताले सात खेलबाट ५ अंक हात पारिन् भने समान ५ अंक बटुलेकी काठमाडौं भ्याली कलेजकी विशेखा जयसवाल दोस्रो स्थानमा रहिन् । त्यस्तै सिसिआरसीकी गरिमा पाण्डे ४ अंकका साथ तेस्रो स्थानमा रहिन् । (सौस)
प्रतिक्रिया