काठमाडौं, २५ माघ । एकै म्याचमा ६ जना खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गरेको मैत्रीपूर्ण फुटबल खेलमा बुधबार नेपाल पाकिस्तानद्वारा १–० ले पराजित भयो । दशरथ रंगशालामा अपराह्न भएको खेलमा नेपाली खेलाडीहरूबीच समन्वय र तालमेल नमिल्दा पाकिस्तान इन्जुरी समयमा गोल गर्न सफल भएको हो । नेपाली खेलाडीले पासिङको क्रममा नियञ्त्रणभित्रै रहेको बल गुमाएर डरलाग्दो गल्ती गरेपछि पाकिस्तानले अवसर पाएको थियो । म्याचको एक मात्र निर्णायक गोल हसन बसीरले गरे ।
पहिलो हाफमा नेपाली टोली प्रभावी देखिएको थियो । बलमा धेरैजसो नियन्त्रण नेपाली टोलीले राखे पनि फिनिसिङ क्षणमा पुग्नेक्रममा महत्त्वपूर्ण क्षेत्रमा बल होल्ड गर्न भने असफल रह्यो । गत केही वर्षदेखि अनील गुरुङ, सन्तोष साहुखल र जुमानु राइलाई लगातार अवसर दिइए पनि यसपटक टोलीमा केही परिवर्तन गरिएको थियो । पहिलो रोजाइका फरवार्डमा सन्तोष र भरत खवास थिए भने निराजन खड्का र राजेन्द्र रावलले मध्यभागमा खेल्ने अवसर पाएका थिए । यसैगरी, भोल सिलवाल र जगजित श्रेष्ठले नियमित खेल्ने अवसर पाए भने रक्षापंक्तिमा बिराज महर्जन, रबिन श्रेष्ठ, सन्दीप राई र सागर थापा यथावत् थिए । यी मध्ये राजेन्द्रको पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।
दोस्रो हाफमा अमर डंगोल, गणेश खड्का, विशाल राई ‘ए’, चेतन घिमिरे, विजय धिमाल र विक्रम लामाले मैदान प्रवेशको अवसर पाए । यी मध्ये चेतनबाहेक सबैको अन्तर्राष्ट्रिय डेब्यु थियो । रविन श्रेष्ठलाई प्रतिस्थापन गर्दै धिमाल मैदान प्रवेश गरेका थिए । धिमालले दायाँ साइडमा खेले भने धिमालको प्रवेश पछि बिराज बायाँ साइडमा खेलेका थिए ।
मध्यभागमा परिपक्व मिडफिल्ड नभएपछि नेपालको प्रदर्शन के नमिलेभैँm भएको थियो । विपक्षी पाकिस्तानी प्रशिक्षक जाभिसाले पनि नेपालले बल नियन्त्रणमा राम्रो गरेको तर फिनिसिङमा सुधार गर्नुपर्ने बताए । नेपालका प्रशिक्षक ज्याक स्टेफानोस्कीले यो मैत्रीपूर्ण खेलमा थुप्रै परीक्षण गरेको र दोस्रो मैत्रीपूर्ण खेलमा अझ धेरै परिवर्तन हुने बताए ।
प्रतिक्रिया