यौनोत्तेजक औषधि बेच्ने पसल बन्द

काठमाडौं : दर्ता नभएका यौनोत्तेजक औषधि र आकस्मिक गर्भनिरोधक चक्की बिक्री गरेको फेला पारेपछि औषधि व्यवस्था विभागले सोह्रखुट्टेस्थित एक औषधि पसल बन्द गरेको छ ।
औषधि व्यवस्था विभाग र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा सोह्रखुट्टे, खुसिबुस्थित सेन्ट्रल हेल्थ क्लिनिकको औषधि पसल बन्द गराएको हो । गैरकानुनी औषधि बिक्री गरेको पाइएपछि टोलीले आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन औषधि पसल सञ्चालकलाई निर्देशनसमेत दिएको छ ।
अनुगमनमा सहभागी फार्मेसी निरीक्षक श्याम अधिकारीका अनुसार ‘जेनेग्रा’ नामको यौनोत्तेजक औषधि, आइपिएसल ७२ नामक आकस्मिक गर्भनिरोधक औषधि र एमटिपी किट नामक गर्भपतन गराउने औषधि उक्त पसलमा पाइएको थियो । नेपालमा दर्ता नै नभएका औषधि बिक्री गरेको पाइएकाले पसललाई बन्द गराइएको फार्मेसी निरीक्षक अधिकारीले बताए । ‘बजारमा यस्तै प्रकृतिका धेरै औषधि दर्ता भएका छन्,’ अधिकारीले भने, ‘तर, व्यापारीहरूले सस्तोमा पाइने र धेरै फाइदा हुने लोभमा यस्ता गैरकानुनी औषधि किनेर राख्ने गरेका छन् ।’ उनले विनादर्ताका औषधि बिक्रीका लागि राख्ने सबै औषधि पसललाई बन्द गरिने बताए ।
अनुगमनकै क्रममा टोलीले खुसिबुमै रहेको गोर्खाली फर्माले दर्ता नभएका आर्युवेदिक औषधि सञ्चय गरेर राखेको फेला पारेको थियो । टोलीले दर्ता नभएका आयुर्वेदिक चूर्णहरू जफत गरी अस्पतालमा रहेका अन्य आयुर्वेदिक चूर्णहरूलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । अधिकारीले एलोपेथिक औषधि पसलमा आयुर्वेदिक औषधिहरू
पनि राखेकाले हटाउन निर्देशन दिइएको बताए ।
यसैगरी, अनुगमनका क्रममा टोलीले सोह्रखुट्टेस्थित न्यु हस्पिटल फर्माले लागू तथा मनोद्वीपक औषधिहरूको रेकर्ड अपडेट नगरेको पाइएपछि तत्काल अपडेट गर्न निर्देशन दिएको छ । यस्ता औषधि चिकित्सकको प्रेस्काइबका आधारमा मात्र खरिद गर्न मिल्ने र बिक्रेताले ती औषधिको रेकर्ड राख्नुपर्ने नियम छ । तर, उक्त पसलले रेकर्ड अद्यावधिक नगरेकाले अब अद्यावधिक गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको अधिकारले जानकारी दिए । (सौस)

प्रतिक्रिया