कफी निकासी बढ्यो

काठमाडौं, २२ माघ । नेपाली कफीको निर्यात ह्वात्तै बढेको छ । मागअनुसार आपूर्ति हुन नसकेका कारण मौजुदा कफी उद्योगले भरपुर काम पाउन सकेका छैनन् ।

बजारमा पर्याप्त कफी नभएकाले कफी प्रशोधन गर्ने कारखाना ६ महिना चलाएपछि ६ महिनाका लागि बन्द गर्नुपर्छ । कफी प्राविधिक टेकराज गिरी उत्पादन गर्ने किसान र प्रशोधन कम्पनीबीच पनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएकाले उत्पादनमा जोड दिनुपर्ने बताउँछन् । नेपालको अधिकांश जिल्लामा कफीखेती गर्न सकिन्छ । तर, हाल २२ जिल्लामा मात्र सामान्य व्यावसायिक तवरबाट कफीखेती हँुदै आएको छ । २२ जिल्लामा उत्पादन भएका कच्चा कफीबाट प्रशोधित कफी बनाउन ६ महिना मात्र उद्योगले काम पाउने गरेको प्राविधिक गिरीले बताए ।
गत वर्ष ९ करोड ३० लाख रुपियाँको कफी निर्यात भएकोमा चालु ०६८/६९ मा ६९ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भई १५ करोड ८० लाख रुपियाँ बराबरको कफी निर्यात भएको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ  ।
नेपाली कफीको धेरै निर्यात हुने देशमा जापान पर्छ । जापानले यस वर्ष करिब ५ करोड रुपियाँ बराबरको १ लाख ४४ हजार ९८९ केजी खपत गरेको छ । नेपाली कफी निर्यात हुने अन्य मुलुकमा जोर्डन, कोरिया, ताइवान, संयुक्त अरब इमिरेट्स, कम्बोडिया, अमेरिका, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, स्विडेन, बेलायत, इटाली, बंगलादेश, अस्ट्रेलिया, फिनल्यान्डलगायत पर्छन् ।
नेपालमा करिब १६ करोड रुपियाँको कफी उत्पादन हुन्छ भने करिब ९ करोड रुपियाँको कफी स्वदेशमै खपत हुन्छ । ७ करोड मूल्य बराबरको कफी विश्वका १३ मुलुकमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।
नेपालमा साना–ठूला गरी १६ वटा कफी कम्पनीले कफीको उत्पादन तथा निर्यात गरिरहेका छन् । विदेशबाट अराबिका जातको कफीको माग बढिरहेको भए पनि आपूर्ति गर्न नसकेको नेपाल कफी उत्पादक महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले बताए ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निर्देशक शेष खनालले आगामी समयबाट कफी उत्पादनमा जोड नदिने हो भने नेपाली कफीको लोगो (ट्रेड मार्क) दुरुपयोग हुने खतरासमेत औँल्याए । विश्व बजारमा अराबिका जातको नेपाली कफीको माग बढेको हो । नेपाली कफीको उत्पादन अग्र्यानिक छ र स्वादिष्ट पनि त्यसैले कफीका पारखीबाट नेपालकै कफी माग गरिरहेका छन् तर मागअनुसारको आपूर्ति हुन नसकेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक तेजसिंह विष्टले बताए ।

प्रतिक्रिया