विद्युत् चुहावट रोक्न लोडसेडिङ

इलाम : नेपाल विद्युत् प्राधिकरण इलामले विद्युत् चुहावट रोक्न लोडसेडिङ गर्ने भएको छ । पछिल्लो समय जिल्लामा मिटर जडान नगरी बिजुली बत्ती बाल्ने क्रम बढेको भन्दै प्राधिकरणले त्यस्ता क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा लोडसेडिङ गर्ने भएको हो ।
विद्युत् चोरी हुने क्षेत्रमा टोली खटाई तत्काल मुख्य लाइन कटाउने प्राधिकरणका शाखा प्रमुख राजीवकुमार शर्माले बताए । ‘विद्युत् चोरी हुने क्षेत्रमा नियन्त्रणको एक मात्र उपाय लोडसेडिङ नै हो । लोडसेडिङ गरिदिन थालेपछि प्राधिकरणमा विद्युत्को मिटर लिनेको संख्या पनि बढेको छ ।’ उनले भने ।
प्राधिकरणका अनुसार इलाम बजारमा १६ प्रतिशत, सोक्तिम फिडरमा ३७ प्रतिशत, साँखेजुङ फिडरबाट ४७ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ । ‘अनुगमनका क्रममा मिटर नराखी बत्ती बालिरहेको थाहा पाएपछि त्यस फिडरको लाइन काटिएको छ ।’ प्राधिकरण प्रमुख शर्माले बताए । केन्द्रीय नीति अनुसार नै विद्युत् चुहावट नियन्त्रणका लागि प्रयास थालिएको उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने र चोरी गर्नेको लाइन धमाधम काट्न थालेपछि राजस्वसमेत उठ्ने क्रम बढ्न थालेको छ । जिल्लामा तीन करोड रुपियाभन्दा बढी बक्यौता नउठेपछि प्राधिकरणले विद्युत् लाइन काटिदिएको थियो । लाइन काटेपछि बाँकी एक करोड रुपियाँ बक्यौता उठेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया