थाइल्यान्डलाई उपाधि नेपाल तेस्रो स्थानमा सिमित

acc-logoबैंकक, १९ माघ । हङकङलाई ८ विकेटले पराजित गरी नेपालले थाइल्यान्डमा बिहीबार सम्पन्न एसिसि महिला च्याम्पियनसिपमा अर्थहीन तेस्रो स्थान हात पारेको छ । नेपालले पहिला ब्याटिङ गरेको हङकङलाई ३२ रनमा सीमित गरेको थियो । विपक्षीलाई थोरै रनमा सीमित गर्नेक्रममा नेपालका लागि नेरी थापाले तीन तथा रुबिना क्षेत्रीले दुई विकेट लिए । सोनु खड्का र करुणा भण्डारीको नाममा एक/एक विकेट रह्यो । हङकङका पाँच खेलाडीले खाता खोल्न सकेनन् । प्रारम्भिक ब्याट्सवुमन यिप सेज वानले सर्वाधिक १२ रन जोडिन् । नेरीले चार ओभर बलिङ गर्नेक्रममा तीन मेडन राखेर एक रन मात्र दिएकी थिइन् ।

नेपालले प्राप्त लक्ष्य ७.३ ओभरमा दुई विकेट गुमाएर भेटायो । २९ मिनेटमै लक्ष्य पूरा गरेको नेपालका लागि प्रारम्भिक ब्याट्सवुमन सीता राना मगरले सर्वाधिक १० रन जोडिन् । त्यस्तै मधु थापाको स्थानमा खेलाइएकी अर्की प्रारम्भिक ब्याट्सवुमन शोभा आलेले आठ रन बनाइन् । इन्दु बर्मा चार र सरिता मगर एक रनमा नटआउट रहे । नेपालले पहिलो विकेटका लागि २४ रनको साझेदारी गरेको थियो ।
पछिल्ला दुई संस्करणको विजेता हङकङ सेमिफाइनलमा चीनसँग र नेपाल, थाइल्यान्डसँग पराजित भएका थिए । समूह चरणमा नेपालले हङकङलाई पराजित गरेको थियो । पहिलो संस्करणमा फाइनलसम्म पुगेको नेपाल त्यसयता भएका पछिल्ला तीन संस्करणमा भने सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
थाइल्यान्ड विजेता
चीनलाई १७ रनले पराजित गर्दै घरेलु टोली थाइल्यान्ड एसिसि महिला च्याम्पियनसिपको नयाँ विजेता बनेको छ । प्रतियोगिता अवधिभर नै निकै सशक्त प्रदर्शन गरेको चीनले बिहीबार भएको फाइनलमा ९६ रनको लक्ष्यसमेत भेटाउन सकेन । थाइल्यान्डले कसिलो बलिङ गरेपछि चिनियाँ टोली २४.४ ओभरमा ७८ रनमा समेटियो ।
चीनका दुवै प्रारम्भिक ब्याट्सवुमनसहित पाँच खेलाडीले खाता खोल्न सकेनन् । हुवाङ झुओ र यु मिआओले छैटाँै विकेटका लागि २९ रनको साझेदारी गर्नुअघि चीन ५–५ को स्थितिमा थियो । झुओ ३० रन जोडेपछि रनआउट भइन् । मिआओले १० रन जोडे । यी बाहेक कुनै पनि चिनियाँ खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ थाइल्यान्डकी चानिदा सुथ्रिरुआङले तीन र रत्तना सेङसोमाले दुई विकेट लिए । बुधबार नेपालविरुद्ध भएको सेमिफाइनलमा पाँच विकेट लिएकी चानिदाले चीनविरुद्ध पाँच ओभर बलिङ गर्नेक्रममा दुई मेडन राखेर ६ रन मात्र दिइन् । इनिङको दोस्रो ओभरमा चानिदाले दुवै प्रारम्भिक ब्याट्सवुमनलाई आउट गरेकी थिइन् ।
यसअघि थाइल्यान्डले निर्धारित २५ ओभरमा ६ विकेट गुमाएर ९५ रन जोडेको थियो । कप्तान सोर्नारिन टिपोचले नटआउट २८ रन जोडिन् भने मध्यक्रमकी चानिदाले १७ रन जोडिन् । प्रारम्भिक ब्याट्सवुमन नटाकन चन्थमले पनि १० रन जोडिन् । टिपोचले चानिदासँग छैटौँ विकेटका लागि ४० रनको साझेदारी गरेकी थिइन् । चीन फाइनलअघि कुनै पनि खेलमा पराजित भएको थिएन । यता हङकङसँग पराजित भएपछि थाइल्यान्ड समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको थियो । पहिलो संस्करण बंगलादेशले जितेको यस प्रतियोगितामा पछिल्ला दुई संस्करणको विजेता हङकङ हो । सन् २००९ को संस्करणमा फाइनल पुगे पनि थाइल्यान्डले हङकङविरुद्ध पराजय सामना गरेको थियो । थाइल्यान्डकी चानिदा बेस्ट बलर र चीनकी झाङ मेइ बेस्ट ब्याट्सवुमन चुनिदा तथा थाइल्यान्डकी टिपोच प्लेयर अफ दि टुर्नामेन्ट भए । एजेन्सी

प्रतिक्रिया