पेन्टागनलाई डिभोटी कप

dvotiधनगढी : सर्वाधिक उपाधि राशीको घरेलु क्रिकेट प्रतियोगिता होटल डिभोटी एसपिए कपको उपाधि काठमाडौंको पेन्टागन कलेजले जितेको छ । मंगलबार भएको फाइनलमा पेन्टागनले काठमाडौंकै नासा कलेजविरुद्ध चार विकेटले जित हात पार्‍यो । टस जिती पहिला ब्याटिङ गरेको नासा १५.५ ओभरमा ७७ रनमा सीमित भएको थियो । नासालाई सामान्य योगफलमा सीमित गर्नेक्रममा कमल किशोर प्रेमीले तीन तथा मेहबुब आलमले दुई विकेट लिए । कमलले २.५ ओभर बलिङ गर्नेक्रममा १३ रनमात्र खर्चिए । नासाका लागि राहुल सिंहले ४५ रन जोडे । उनीबाहेक नासाको इनिङमा दोहोरो अंक छुने एक मात्र खेलाडी भएका प्रविन जोशीले १० रन जोडे । नासाका चार खेलाडीले खाता खोल्न सकेनन् । पेन्टागनले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । विजयी टोलीका लागि पुष्प थापाले सर्वाधिक २८ रन जोडे । त्यस्तै अनुपम सिंहले नटआउट १३ र हसिम अन्सारीले १० रन बनाए । सुरुका तीन खेलाडीले दोहोरो अंक छुन नसके पनि पेन्टागनका लागि पुष्प र हसिमले चौथो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए । जितसँगै पेन्टागनले दुई लाख रुपियाँ पुुरस्कार पायो भने नासाले उपविजेता भएवापत एक लाख रुपियाँ पायो ।
विजेता टोलीका नरेश बुढाएर प्लेयर अफ दि सिरिज भए । यसवापत उनले ५० हजार रुपियाँ पाए । चार खेलमा उनले दुई अर्धशतकसहित १२३ रन जोडेका थिए भने ११.४ ओभरमा ७२ रन खर्चिएर सात विकेट लिएका थिए । चार खेलमा एक शतकसहित १८२ रनको योगदान गरेका पेन्टागनकै मेहबुब आलम बेस्ट ब्याट्सम्यान तथा १५ ओभरमा ८२ रन खर्चिएर नौ विकेट लिएका नासाका सुरेश गुरागाईं बेस्ट बलर चुनिए । दुवैले समान २० हजार रुपियाँ पाएका छन् । (सौस)

प्रतिक्रिया