बैंकक, १५ माघ । इतिहास कायम राख्दै नेपाल एसिसि महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार समूहको आफ्नो तेस्रो खेलमा मलेसियालाई सात विकेटले हराएर नेपाल अपराजित यात्रासहित हङकङसँग भिड्नु अगावै सेमिफाइनल पुग्ने निश्चित भएको हो । नेपाल यस अघिका सबै तीन संस्करणमा कम्तीमा सेमिफाइनलसम्म पुगेको छ ।
समुह ‘ए’ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल सोमबार हङकङविरुद्ध उत्रदै छ जसले समूह विजेताको निक्र्योल गर्नेछ । भुटानलाई आइतबार भएको अर्को खेलमा पराजित गरी हङकङ पनि लगातार तेस्रो जितसहित सेमिफाइनल प्रवेश गर्ने निश्चित भएको छ ।
पछिल्लो जितमा नेपालले सानदार बलिङ प्रदर्शन गर्यो । पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २५ ओभरमा आठ विकेट गुमाउँदै ६५ रन जोडेको थियो । मलेसियाका लागि प्रारम्भिक ब्याट्सवुमन एमिलिया रहिमले २१ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । १८ अतिरिक्त रन दिएको नेपालका लागि कप्तान रुविना क्षेत्री र सरिता मगरले समान दुई विकेट लिए । करुणा भण्डारी र नीरा राजोपाध्यायले पनि एक/एक विकेट लिए । पाँच ओभर बलिङ गरेकी रुविनाले ११ रन मात्र खर्चिन् भने त्यति नै ओभर बलिङ गरेकी सरिताले पनि विपक्षीलाई १४ रनमात्र दिइन् । मलेसियाले तेस्रो विकेटका लागि २१ र सातौँ विकेटका लागि २४ रनको साझेदारी गरेको थियो । लक्ष्य पछ्याउनेक्रममा नेपाल दबाबमा देखिएन । नेपालले ११.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्रारम्भिक ब्याट्सवुमनद्वय मधु थापाले १६ र सीता रानामगरले १० रन जोडे । नेरी थापाले नटआउट १० रन जोडिन् । रोसनी बोहराले एक रन मात्र बनाउँदा सरिता मगर ९ रनमा नटआउट रहिन् । नेपालले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको थियो । समूहको पहिलो खेलमा भुटानलाई पराजित गरेको नेपालले दोस्रोमा युएईलाई निराश बनाएको थियो ।
यता समूह ‘बि’बाट चीन र थाइल्यान्ड सेमिफाइनल पुगेका छन् । चीन र थाइल्यान्ड समूहको अन्तिम खेलमा आपसमा भिड्नुअघि सबै खेलमा विजयी भए । यी दुईबीच हुने खेलले समूह विजेता र उपविजेताको निक्र्योल गर्नेछ ।
नेपाललाई बदला लिने अवसर
पछिल्ला दुई संस्करणको विजेता हङकङ नेपाली महिला क्रिकेटका लागि प्रमुख बाधक बन्ने गरेको छ । पहिलो संस्करणमा फाइनलसम्म पुगेको नेपाल, हङकङसँग पराजित भएपछि पछिल्ला दुवै संस्करणमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन । हालसम्म सिनियर महिलामा नेपाल र हङकङबीच चारपटक प्रतिस्पर्धा भएको छ जसमा दुवैले दुई/दुईपटक जित हात पारेका थिए । सन् २००७ मा आयोजित पहिलो एसिसि महिला च्याम्पियनसिपमा नेपालले समूह चरणमा हङकङलाई हराएको थियो ।
सन् २००९ को संस्करणमा नेपाल सेमिफाइनलमा हङकङविरुद्ध सात विकेटले पराजित भएको थियो । सन् २०११ मा आयोजित पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमै हङकङविरुद्ध नौ विकटले निराश बन्यो । त्यसबीचमा आयोजित ग्वन्जाउ एसियाडमा भने नेपालले हङकङलाई सात विकेटले पराजित गरेको थियो । जारी एसिसि महिला च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेलमा आपसमा भिड्नुअघि नेपाल र हङकङ दुवैले खेलेका सवै खेलमा जित हात पारेका छन् । एजेन्सी
प्रतिक्रिया