प्रधानमन्त्रीलाई जेल हाल्ने उद्घोष

काठमाडौं, १५ माघ । एमाले नेताहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईका कारण मुलुक असफल राष्ट्र बन्ने खतरा रहेकाले आन्दोलनबाटै सरकारलाई पराजित गर्नुपर्ने बताएका छन् । आन्दोलनका कार्यक्रमको तयारीस्वरूप आइतबार पार्टी मुख्यालय बल्खुमा आयोजित भेलालाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री भट्टराईलाई बालुवाटारबाट निकालेर जेल हाल्ने घोषणा पनि गरे ।

१६ माघमा सहिद सप्ताहका रूपमा र २६ माघमा काठमाडौंमा हुने जनप्रदर्शनको तयारीस्वरूप आइतबार भेला आयोजना गरिएको थियो । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादीका कारण मुलुक असफल राष्ट्र बन्ने अवस्था आएको बताए । भट्टराई सरकार यथावत् रहे मुलुक असफल राष्ट्र बन्ने र त्यस्तो अवस्थामा विदेशी हस्तक्षेप हुने नेपालको भनाइ थियो । ‘बाबुराम भट्टराईको सत्तामोहले मुलुक असफल राष्ट्र बन्ने खतरा बढेको छ,’ नेपालले भने, ‘त्यसो भए योभन्दा चर्काे विदेश चलखेल र हस्तक्षेप हुन सक्छ ।’ नियोजित रूपमै एमाओवादी अधिनायकवादी शासन लाद्ने प्रयासमा लागेकाले आन्दोलनबाटै पराजित गर्नुको विकल्प नभएको उनले बताए ।
कार्यक्रममा वरिष्ठ नेता केपी शर्मा ओलीले एमालेसँग विचार, कार्यकर्ता र इतिहास भएकाले सबैलाई परिचालन गर्नेगरी आन्दोलनको तयारी गर्नुपर्ने बताए । उनले आफूमा भएको शक्ति चिन्ने क्षमता नभएकाले एमालेलाई अन्य शक्तिले हेपेको बताए । ‘सामाजिक रूपमा प्रतिष्ठत इमानदार कार्यकर्ताको यत्रो पंक्ति छ तर त्यो देखाउनका लागि मात्रै जस्तो भएको छ,’ ओलीले भने, ‘अब त्यो बाख्राको घाँटीका लुर्कानाजस्ता मात्रै भएर हुँदैन, पूरै परिचालित भएर आन्दोलन सफल बनाउनुपर्छ ।’
उपाध्यक्ष वामदेव गौतमले भट्टराई सरकारलाई आन्दोलनकै बलमा सत्ताच्युत गर्नुका साथै मानवता र राष्ट्रियताविरुद्धको अपराधमा जेल हाल्नुपर्ने बताए । ‘अब आन्दोलनबाटै बाबुरामलाई सत्ताच्युत गर्नुपर्छ र बालुवाटारबाट निकालेर जेल हाल्नुपर्छ,’ गौतमले भने, ‘हामी उनीहरूले जस्तो विचार नमिल्नेलाई मार्नुपर्छ भन्ने सिद्धान्तमा छैनौँ, मानवता र राष्ट्रियताविरुद्ध उनीहरूले गरेको अपराधको सजाय जेल हालेर दिनुपर्छ ।’ आन्दोलनबाटै सबै कुराको छिनोफानो हुनेगरी तयारी गर्न गौतमले कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया