जुत्ता–चप्पल मेलामा ४५ हजार सहभागी

Jutta-melaकाठमाडौं, १४ माघ । स्वदेशी छाला जुत्ता तथा चप्पलको उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ६ माघबाट सुरु भएको बिग सेल मेलामा शनिबारसम्म झन्डै ४५ हजारले अवलोकन गरेका छन् । मेलामा सहभागीमध्ये १५ हजारले जुत्ता–चप्पल खरिद गरेको आयोजकको भनाइ छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा स्काई सुज, बिएफ डियर हिल सुज र शिखर सुको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । साथै टाकुरा, कोसेली, लेदर ह्विल्सको पनि सहभागिता रहेको छ । सेल मेलाको अवसरमा विभिन्न कम्पनीका उत्पादनमा १५ प्रतिशतदेखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
सेल मेलामा जुक्ता–चप्पलमा भारी छुटको व्यवस्था हुने भएकाले उपभोक्ताको मेलामा आर्कषण बढेको स्काई सुजका निर्देशक मनोज श्रेष्ठले बताए । ‘करिब ४५ हजारले मेला अवलोकन गरेको अनुमान हामीले गरेका छौँ,’ उनले भने, ‘अवलोकनकर्तामध्ये १५ हजार जोर जुत्ता–चप्पल बिक्री भएको छ ।’ अपेक्षा गरेभन्दा बढी उपभोक्ता मेलामा सहभागी भएको उनले बताए ।
‘उपभोक्ताको आकर्षण नेपाली ब्रान्डप्रति बढ्दै गएको छ,’ श्रेष्ठले भने, ‘नेपाली ब्रान्ड सस्तो, गुणस्तरीय र टिकाउयुक्त हुन्छ ।’ मेलामा विभिन्न कम्पनीसँग रहेको स्टक तथा मोडल पुराना भएका जुत्ताका साथै लेटेस मोडलका जुत्ता पनि बिक्री गरिरहेको उनले बताए । वारेन्टीको पनि व्यवस्था रहेकाले पनि उपभोक्ताको आकर्षण भएको उनको भनाइ छ ।
नेपाली ब्रान्डप्रति आमउपभोक्ताको झुकाव र विश्वास बढ्दै गएका कारण यस मेलामा उल्लेख्य रूपमा सहभागिता रहेको शिखर सुका म्यानेजिङ डाइरेक्टर रामकृष्ण प्रसार्इंले बताए । ‘सोचेभन्दा बढी उपभोक्ता मेलामा सहभागी भएका छन्,’ प्रसाईंले भने, ‘यसले गर्दा हाम्रो थप उत्साह पैदा भएको छ ।’ स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा प्रचार–प्रसार गरी विदेशी जुत्ता–चप्पल आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भर बनाउन आवश्यक रहेको उनले बताए ।
नेपालमा कुल मागको ५५ प्रतिशत स्वदेशी उत्पादनबाट पूर्ति भएको छ भने बाँकी ४५ प्रतिशत भारत, चीनलगायत देशबाट आयात हुने गरेको छ । नेपालमा छाला जुत्ता, क्याजुअल सुज र स्पोर्ट सुजमा संस्थागत उद्योगबाट ४० प्रतिशत र परम्परागत उद्योगबाट १५ प्रतिशत, चीनबाट १७ प्रतिशत, भारतबाट ९ प्रतिशत र बाँकी १९ प्रतिशत अन्य मुलुकबाट आयात हुने गरेको छ । नेपालमा ५ सयभन्दा बढी जुत्ता चप्पल उद्योग सञ्चालमा छन् भने यस उद्योगबाट २५ हजारले प्रत्यक्ष रोजगारी र दुई लाख ५० हजारले अप्रत्यक्ष रोजगारी पाएको छ । १६ गतेसम्म सञ्चालन हुने मेलामा २५ हजार जोर जुत्ता–चप्पल बिक्री गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया