बैंकक, १२ माघ । उदीयमान शक्तिका रूपमा चिनिएको भुटानलाई आठ विकेटले पराजित गरी बिहीबार नेपालले एसिसी महिला च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ ।
टस जिती पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २५ ओभरमा आठ विकेट गुमाएर ६५ रन जोडेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी विकेटकिपर देचेन वाङ्मोले २३ रन जोड्नुबाहेक भुटानका अन्य सबै भरपर्दा ब्याट्सवुमनको प्रदर्शन कमजोर रह्यो । तीन खेलाडीले खाता खोल्न सकेनन् । नेपालले २० अतिरिक्त रन दिएको थियो । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री र नीरा राजोपाध्यायले दुई/दुई विकेट लिए भने नेरी थापा, सरिता मगर र करुणा भण्डारीको नाममा समान एक विकेट रह्यो ।
नेपालले प्राप्त लक्ष्य १३.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । रोसनी बोहराले १९, प्रारम्भिक ब्याट्सवुमन सीता मगरले नटआउट १८ र सरिता मगरले नटआउट ११ रन जोडे । प्रारम्भिक ब्याट्सवुमन मधु थापा भने एक रन जोडेपछि क्याच आउट भएकी थिइन् । तीन रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरेको थियो । सीता र सरिताबीच अविजित ३७ रनको साझेदारी भयो ।
नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार युएईविरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूह ‘ए’मा रहेको नेपालले अन्य खेलमा हङकङ र मलेसियाविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ । सन् २००७ मा आयोजित पहिलो संस्करणमा उपविजेता भएको नेपाल पछिल्ला दुई संस्करणमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
बिहीबार भएका अन्य खेलमा हङकङले मलेसिया, चीनले सिंगापुर र थाइल्यान्डले कुवेत र इरानले कतारलाई पराजित गरे । पहिलो खेलमा बुधबार युएईलाई पराजित गरेको हङकङ दुई खेलबाट चार अंक जोड्दै समूहको शीर्षस्थानमा छ । भुटानले दुई खेलबाट दुई अंक जोडेको छ भने नेपालको एक खेलबाट दुई अंक छ । यस प्रतियोगिताको विजेता टोलीले टि–ट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरको छनोट खेल्ने अवसर पाउने छ ।
इतिहास निरन्तरताको चुनौती
पुरुष क्रिकेटमा युएईले फड्को मारे पनि महिलातर्फ भने सम्भावित सफलता हात पार्न सकेको छैन । एसिसी महिला च्याम्पियनसिप चौथो संस्करणसम्म आइपुग्दा उसले सेमिफाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन । त्यसको विपरीत नेपालले महिला क्रिकेटमा भने पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि नै बलियो सम्भावना देखाइ सकेको छ । यसबीचमा सिनियर महिलामा नेपाल र युएई एकपटक आमने–सामने भएका छन् जसमा नतिजा नेपालको पक्षमा छ । एसिसी महिला च्याम्पियनसिपको पछिल्लो संस्करणमा समूह चरणमा भिडेका यी दुई टोलीबीच नेपाल आठ विकेटले विजयी भएको थियो । दुई वर्षअघि भएको यस प्रतियोगितामा पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८० रन जोडेको थियो । एक खेलाडीको प्रदर्शनमा युएई यस योगफलसम्म पुगेको हो । शुक्रबार हुने युएईविरुद्धको भिडन्तमा नेपाल सोही प्रदर्शनलाई कायम राख्दै लगातार चौथोपटक सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने प्रयासमा हुनेछ । एजेन्सी
प्रतिक्रिया