पुलिस पनि सुपर एटमा

footballकाठमाडौं, १२ माघ । ‘अधिकांश खेलाडीमा चोट, बेन्चमा खेलाडीको अभाव र स्कोरिङ समस्या ।’ नेपाल पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नतिजा आफ्नो पक्षमा पर्न नसकेका खेलमा सधँै दोहोर्‍याउने विषय बन्थ्यो यो । खेलक्रममा लिगको मध्यसम्म कमजोर देखिए पनि त्यसपछि पुनरागमन गर्दै पुलिसले रेलिगेसन खतरालाई टारेर साविक विजेताका रूपमा आफ्नो इज्जत जोगाएको थियो । रेलिगेसनबाट बचेपछि उसको इज्जत जोगाउनुपर्ने अर्को विषय बन्यो सुपर एट प्रवेश । तर, यो उसको हातमा मात्र थिएन, अन्य टोलीमा पनि थियो । बिहीबार जावलाखेलविरुद्ध उसलाई अनिवार्य जित आवश्यक थियो । र, अनेक सम्भावनाका बीच पूर्व राष्ट्रिय स्टाइकर चेतन घिमिरले जारी लिगकै व्यक्तिगत पहिलो गोल गरेपछि जावलाखेललाई १–० ले हराएर सरस्वतीसँग समान २३ अंक भए पनि पुलिस हेड टु हेडका आधारमा सुपर एट प्रवेश गर्न सफल भएको हो ।

चेतनले ७३औँ मिनेटमा पर्वत पाण्डेको क्रसमा गोलकिपर मिन बस्नेत अगाडि बढेको मौकामा सिक्स यार्ड नजिकैबाट हेडमार्फत आकर्षक गोल गरेका थिए ।
गोल गरेपछि २४ वर्षीय चेतनले टिसर्ट फुकालेर दौड लगाउँदै भिआइपी प्यारापिटमा बसेका एआइजी भीष्म प्रसाईलगायत तर्फ फर्केर स्यालुट गरे । स्यालुट गर्नुअघि उनले टिसर्ट ट्रयाकमा हुत्याएका थिए । उनले करिब दुई वर्षपछि पहिलो गोल गरेका हुन् । क्लबको प्रशिक्षणका क्रममा घाइते भएपछि उनी दुई वर्षभन्दा बढी समय फुटबल बाहिर बस्न वाध्य भए । केही समय अघि कतारमा घुँडाको उपचार गरेपछि यसै लिगको पहिलो खेलमा मध्यपुरविरुद्ध उत्रदै उनी फुटबलमा पुनरागमन गर्न सफल भएका थिए । ‘मेरो फिनिसिङ राम्रो हुन सकिरहेको थिएन । गोलको व्यग्र प्रतिक्षामा थिए । महत्त्वपूर्ण समयमा गोल गरेकाले खुसीको सीमा रहेन ।’ चेतनले भने ।
रेलिगेसनको दबाबबाट माथि उक्लिएर नाटकीय समीकरणमा सुपर एट पुगेपछि पछिल्ला तीन संस्करणको विजेता पुलिसका प्रशिक्षक विराटकृष्णले भने, ‘भोलि(शुक्रबार) हुने थ्री–स्टार र मनाङबीचको खेलले उपाधि होड निक्र्योल गर्नेछ । यस खेलमा थ्री–स्टार विजयी भए हाम्रो त के मनाङ, आरसिटी, मच्छिन्द्र, आर्मीलगायत टोलीको सम्भावनासमेत कमजोर हुनेछ ।’ १४ खेलपछि थ्री–स्टार ३२ अंकसहित शीर्षस्थानमा छ । १५ खेल खेलेका मध्ये आर्मी २८ अंकसहित दोस्रो र मच्छिन्द्र २७ अंकसहित तेस्रो स्थानमा छ । आरसिटीको २६ अंक छ । १४ खेलपछि मनाङको २६ अंक रहेको छ ।

चेतन घिमिरे : चोटपछि खेलमा फर्किएर मैले गोल गर्न सकिरहेको थिइनँ । फिनिसिङ कमजोर भएपछि म केही खेलमा लगातार बेन्चमै सीमित पनि भए । मलाई जसरी पनि गोल गर्नु थियो । एआइजी साबहरू पनि पुलिसको खेलमा आउने गरेकाले गोल गरेर त्यसको सेलिब्रेसन कसरी गर्ने भन्ने योजना पनि मैले बनाइसकेको थिए । यसअघि म एन्फा एकेडेमीमा हँुदा हरि खड्काले गोल गरेपछि रंगशालामा उपस्थित पुलिसका उच्च अधिकारीलाई स्यालुट गर्नुहुन्थ्यो । यसबाट प्रभावित थिएँ र यसैगरी गोलको खुसीयाली मनाउने मेरो योजना थियो । पुलिसको महत्त्वपूर्ण खेल भएकाले एआइजी साबले खेल सुरु हुनुभन्दा अगाडि आएर जसरी पनि जित्नुपर्छ, पुलिसको इज्जतको सवाल हो भन्नु भएको थियो । मैले सुनेर मात्र बसेँ र आज यही हो अवसर भन्ने लाग्यो । अझ राष्ट्रिय टिमका लागि नबोलाइएपछि म खिन्न थिएँ र सँगै थप मिहेनत पनि गर्नुपर्छ भन्ने लागेको थियो । यो महत्त्वपूर्ण गोल मेरो टर्निङ प्वाइन्ट हो जस्तो लागेको छ ।
निष्पक्ष छानबिन माग
काठमाडौं : दशरथ रंगशालामा बुधबार रेफ्रीको गलत निर्णयका कारण विवाद उत्पन्न भएको दाबी गर्दै मध्यपुर युथ एसोसिएसन क्लबले घटनाको निष्पक्ष छानबिन गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)सँग माग गरेको छ । ‘रेफ्री महतका बारेमा हामीलाई खेल सुरु हुनु अगावै शंका लागेको थियो तर एन्फाले रेफ्रीका बारेमा निर्णय भइसकेको र परिवर्तन गर्न नमिल्ने जवाफ पाए पछि बाध्य भएर रेफ्री महतलाई स्वीकार्दै खेल मैदानमा प्रवेश गरिएको हो । खेल सुरु भए देखि नै रेफ्री महतले मध्यपुर युथ एसोसियसनलाई सुनियोजित रूपमा हराउने योजनाका साथ गलत निर्णय लिँदै गएको पायाँै,’ विज्ञप्तीमा उल्लेख छ, ‘अन्तमा मध्यपुरले पाउनु पर्ने शत्प्रतिशत पेनाल्टी बलसमेत नदिई मध्यपुरलाई नियतवस रेलिगेसनमा पारेपछि भएको घट्नाप्रति एसोसियसन दु:ख व्यक्त गर्न चाहन्छ ।’ मध्यपुरले रेफ्रीको गलत निर्णयले क्लबलाई अपुरणीय क्षति भएको भन्दै गलत निर्णय लिने रेफ्रीलाई कडा कारबाहीको माग गरेको हो । साथै रेफ्रीले सही निर्णय लिएको भए जुनसुकै सजाय भोग्न आफू तयार भएको मध्यपुरले स्पष्ट पारेको छ ।

प्रतिक्रिया